सूचनाको शक्ति - The Power Of Information

        

बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् । आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो ।

बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । बाढीले पोल र तारमा क्षति पुर्याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उनले बताए । उनका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम निलगिरी उपभोक्त सहकारीले गर्दै आएको छ ।

‘अहिले विद्युत् पूर्ण रुपमा अवरुद्ध छ । सञ्चालनका लागि सहकारीले कामदार खटाएर मर्मतको काम गरिरहेको छ,’ प्रजिअ केसीले भने । विद्युत् अवरुद्ध हुँदा कागबेनीका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको धावा दोर्जे गुरुङले बताए ।

खानेपानी सञ्चालनको तयारी

बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा अवरुद्ध बनेको खानेपानी आजदेखि सञ्चालनमा आउने गरी काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । मङ्गलबारदेखि पारिको गाउँमा खानेपानी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले आज साँझसम्म सबै ठाउँमा खानेपानी सञ्चालनमा आउने बताए । प्रजिअ केसीका अनुसार अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी भरेर उपभोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १७:४८