सूचनाको शक्ति - The Power Of Information

        

एक महिनापछि डोल्पामा जहाज

मौसम सुधारसँगै जुफाल विमानस्थलमा हवाई सेवा सुचारु भएको छ । लगातारको बर्सातका कारण नेपालगन्ज डोल्पा आउने जहाजको आकाशे मार्ग अवरुद्ध भई २६ दिनसम्म हवाई सेवा बन्द भएको थियो ।

मौसममा सुधार भई आकाश खुलेसँगै बुधवार नेपालगन्जबाट डोल्पाको लागि तारा एयरलाइन्सको जहाजले एउटा उडान भरेको हो । तारा एयरलाइन्सको नेपालगन्ज डोल्पाको टिकट लिनु भएकी डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटकी देवकी उपाध्यायले बल्लबल्ल आकाश खुलेपछि २६ दिनपछि डोल्पामा आउन पाएको बताइन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण जुफाल डोल्पाका प्रमुख अमितकुमार चौरसियाले मौसममा सुधार आएपछि उडान भएको तर प्राधिकरणले बिहान ६ बजेपछि दिउसो १२ बजेसम्म मात्र उडान गरिने गरी बनाएको मापदण्डमा फेरबदल नभएको बताए ।

देशभर भएको भीषण बर्सातका कारण देशभरका २९ ओटा विमानस्थलमा हवाई उडानमा कडाइ गरेको थियो । झन्डै एक महिनासम्म हवाई उडान नहुँदा बिरामी असक्त र अत्यावश्क काममा नेपालगन्ज झर्नुपर्ने कर्मचारी सर्वसाधारणलाई सास्ती भएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १६:१७