खराब मौसमका कारण हुम्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनामा चार जना बालकको ज्यान गएको छ । समयमा नै उपचारका लागि अस्पताल लैजान नसक्दा उनीहरुको ज्यान गएको हो ।
हुम्लाकोे एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान हुन सकेको छैन । यसको मर्कामा बिरामी परेका छन् ।
जिल्ला अस्पताल हुम्लाका वरिष्ठ अनमी सरीता बोहराका अनुसार पछिल्लो एक महिनामा सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली–४ का पाँच महिनाका बालक सन्देश लुवारको उपचार अभावमा ज्यान गएको हो।
जिल्लामा उपचार हुन नसकेपछि गम्भीर बिरामी भएकाहरुलाई अन्य क्षेत्रका अस्पतालमा रेफर गर्ने गरिएको छ ।
तर, हवाई सेवा प्रभावित हुँदा बिरामी उपचार पाउन बाट बञ्चित भएका छन् ।
नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा दिउँसो साढे १२ बजेपछि उडान भर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन ।
प्राधिकरणले भने उद्दार उडानका लागि कुनै बन्देज नगरिएकाले मौसम अनुकूल भएका बेला उद्धार उडान गर्न सकिने दाबी गरेको छ ।
सत्यपाटी संवाददाता । हुम्ला