सूचनाको शक्ति - The Power Of Information

        

मान्छे सहर पस्न थालेपछि घट्यो कोदो खेती

स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको खेती पछिल्लो समय डोटीमा हुन छाडेको छ । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै गएकाले खेती नै हुन छाडेको हो । व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि घट्दै गएपछि परम्परागत मुख्य खाद्यान्न बाली रहेको कोदोको खेती लोप हुने अवस्थामा पुगेको हो ।

एक दशकअघि डोटीको दक्षिण भेगमा रहेका साविकका मन्नकापडी, बर्छैन, घागल, लानकोदारेश्वर, सिमचौर, कानाचौर, केदारअखडा र चवार चौतारा गाविस हाल बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिकालगायतका ठाउँका किसानको मुख्य खाद्यान्न बाली कोदो थियो ।

अहिले कोदोखेती पूरै विस्थापित हुने अवस्थामा पुगेको किसान बताउँछन् । स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको खेती अहिले डोटीका सीमित गाउँमा मात्र गरिन्छ । रोटीका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ्य रहनका लागि भन्दै सहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्छन् ।

कोदोखेती गर्ने किसानको सङ्ख्या दिनहुँ घट्दै गएको किसानको भनाइ छ । बढ्दो सहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन् । ग्रामीण भेगका मानिस सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाँझिँदै गएका हुन् ।

कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि बढ्दो सहरीकरणको प्रभावले गर्दा कोदोखेती लोप हुने अवस्थामा पुगेको बडीकेदार–५ थानकोटका उपेन्द्र धामीले बताए । कोदोको माग धेरै भए पनि खेती गर्ने किसान नभएपछि मागअनुसार जिल्लामै आपूर्ति गर्न नसकिने अवस्था रहेको बडीकेदार गाउँपालिकाको कृषि शाखाका नासु सुरेन्द्र शाहीले बताए ।

अहिले सहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि पछिल्लो समय किसान तरकारीखेती गर्न थालेपछि कोदोखेती लोप हुँदै गएको शाहीले बताए । अहिले सहरी क्षेत्रमा यसको अत्यधिक माग भए पनि उत्पादन घट्दै गएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए । डोटीमा २० देखि ३० प्रतिशत कोदो खेतीयोग्य जमिन भए पनि पछिल्लो समय ५ प्रतिशतले मात्र कोदो खेती गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १७:३२