मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ । अझै यो समस्या विद्यालय जाने बालबालिकामा धेरै देखिएको छ । आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं ।
यदि कसैको आँखा पाकेमा वा रातो भएमा यो त सामान्य समस्या हो भनेर बस्नुहुँदैन । आँखा पाक्ने समस्या कुनै पनि उमेर समूहमा हुन सक्छ । र, एउटा वा दुवै आँखामा रोग देखिन सक्छ । आँखामा देखिने समस्या धेरै प्रकारका हुन्छन् ।
एलर्जिक, जीवाणु (ब्याक्टेरिया) र भाइरसका कारण आँखामा समस्या देखिन्छ । जीवाणु कन्जंक्टिवाइटिस एउटा आँखामा हुन्छ, तर कहिलेकाहीँ दुवै आँखामा पनि हुन सक्छ । आँखा पाक्दा आँखाबाट पिप जस्तो पदार्थ निस्किन्छ र बिहान उठ्दा आँखा खोल्न गाह्रो हुन सक्छ ।
परेली टाँसिएको अनुभव हुन्छ । यो समस्या अहिले जताततै देखिएको छ । भाइरस कन्जंक्टिवाइटिस एउटा आँखाबाट सुरु हुन्छ र सुरु भएकै केही दिनमा अर्को आँखालाई पनि असर गर्न सक्छ । यस्तो अवस्थामा आँखाबाट धेरै आँसु र पानी आउने हुन्छ ।
कानको अगाडिको भाग (प्रि–ओरिकुलर लिम्फ नोड) सुन्निने र दुख्ने गर्छ । एलर्जिक कन्जंक्टिवाइटिसमा आँसु धेरै आउने र चिलाउने गर्छ । यो धेरै जस्तो मौसम परिवर्तनको समय वा धुलो–धुवाँका कारण हुने गर्छ ।
आँखा पाकेमा ध्यान दिनुपर्ने विषय
- साबुन पानीले राम्ररी हात धुनुपर्छ ।
- आँखा सफा राख्नुपर्छ । आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय–समयमा सफा गर्नुपर्छ र त्यसपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ ।
- फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा पुछ्नुहुँदैन ।
- दिनदिनै लुगा र चलाएको रुमाल फेर्नुपर्छ ।
- आँखामा लगाउने शृंगारको प्रयोग गर्न बन्द गर्नुपर्छ ।
- अरुको लुगा, रुमाल र आँखामा लगाउने निजी शृंगारको उपकरण एकापसमा प्रयोग गर्नु हुँदैन ।
- आफूखुसी औषधि प्रयोग गर्नु हुँदैन र आँखा विशेषज्ञलाई देखाउनुपर्छ ।
- आँखा बेस्सरी मिच्नु हुँदैन । किनकि, यसो गर्दा कर्नियामा घाउ हुन सक्छ ।
कहिलेकाहीँ आँखा पाक्ने मात्रै नभइ अरु रोग जस्तैः युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ, जुन उचित समयमा उपचार नगरिएको अवस्थामा गम्भीर रुप लिन सक्छ । जसका कारण आँखाको ज्योति गुम्ने खतरा पनि हुन सक्छ । त्यसैले आँखा रातो भएमा आफूखुसी औषधि प्रयोग गर्नुभन्दा आँखा विशेषज्ञलाई बेलैमा उत्तम हुन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं