सूचनाको शक्ति - The Power Of Information

        

टाउको खोलामा, शरीर जङ्गलमा भेटिएका व्यक्ति भारतीय नागरिक

हत्या गरी फालिएको अवस्थामा भेटिएको युवाको पहिचान भएको छ । खोलामा टाउको र जङ्गलमा शरीर शनिवार भेटिएपछि उनको पहिचान भएको हो ।

शुक्रबारमात्रै परिवार आएर सनाखत गरेपछि मृतक भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राज रहेको प्रहरीले जनाएको छ ।

अभिषेकको टाउको काटिएको शरीर शनिबार साँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला परेको हो । टाउको भने दुई दिनअघि सर्लाहीको लखन्देही पुलमुनि फेला परेको थियो ।

बिहीबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४, सासापुरस्थित लखदेन्ही पुलमुनि युवकको काटिएको टाउको फेला परे पनि पहिचान खुल्न सकेको थिएन । राजमार्ग छेउमै फालिएको अवस्थामा युवकको सड्न लागिसकेको शरीर फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

एसपी सुवेदीले युवकको आपराधिक गिरोहबाट हत्या भएको हुन सक्ने बताए । ‘खोलामा टाउको र जङ्गलमा शरीर ल्याएर फालेको देख्दा युवकको पेशेवर व्यक्तिहरूबाट हत्या भएको जस्तो देखिन्छ,’ एसपी सुवेदीले भने, ‘हामी घटनाको सम्बन्धमा सूक्ष्म ढङ्गबाट अनुसन्धानमा जुटेको छौँ ।’

परिवारका अनुसार अभिषेक अन्य साथीसँगै घुम्न भन्दै साउन २० गते सिता मढीबाट सर्लाहीतर्फ आएका थिए । सँगै घुम्न आएका उहाँका साथीहरू अहिले सम्पर्कविहीन छन् । उनीहरूको भारतीय प्रहरीसँग समन्वय गरी खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतवार ०७:२७