नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई लैजाने मतदाताहरुले प्रतिबद्धता जनाएका छन् ।
प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले बिहीबार नेपालगञ्जको घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियार लगायतको समूहसंग घरवारीटोलका व्यवसायीहरुले संघको नेतृत्व नयाँ व्यक्तिले पाउनुपर्ने भन्दै आफूहरुको भोट परिवर्तनका लागि हुने जनाए ।
परिवर्तनका लागि नेतृत्व भन्दै आएको प्रजातान्त्रिक समूह नै धेरैको रोजाईमा देखिएका छन् । घरवारीटोलमा रहेका थोक तथा फुटकर व्यवसायीहरुले सधै एकै क्षेत्रको नेतृत्व नभएर फरक क्षेत्रको समेत नेतृत्व हुनुपर्ने र अब रौनियारको नेतृत्व हेर्न चाहेको धारणा राखेका थिए ।
थोक तथा फुटकर व्यवसायीहरुको समस्या सम्बोधन गर्नसक्ने नेतृत्व प्रजातान्त्रिक समूह भएको हुँदा हामी व्यवसायीहरुको साथ अब यो समूहलाई नै हुने एक व्यवसायीले भने ।
वाणिज्य संघको निर्वाचनमा यो पटक प्रजातान्त्रिक समूहतर्फ मतदाताको लहर देखिएको छ । सबैको समान सहभागिता र सबै अटाउने नेतृत्व भनेको प्रजातान्त्रिक समूह रहेको मतदाताहरुको भनाई छ ।
संघको निर्वाचन यही भाद्र २ गते तय भइसकेको छ भने निर्वाचन समितिले बुधबार उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गरेको छ ।
सत्यपाटी संवाददाता । बाँके