सूचनाको शक्ति - The Power Of Information

        

गौर हत्याकाण्ड

प्रचण्डको अडानमा अत्तालिए उपेन्द्र !

मन्त्रालयमा भएको सहमतिको १ नम्बर बुँदाले गौर हत्याकाण्डको फाइल खोल्ने देखिएको छ ।

गौर हत्याकाण्डको फाइल खोल्ने तयारपछि सरकारमा रहेको जनता समाजवादी पार्टी जसपा र माओवादी केन्द्रबीच खटपट शुरु भएको छ । भर्खरै मात्र समाजवादी मोर्चा बनाएर एउटै निर्वाचन चिन्ह लिएर आउँदो निर्वाचनमा भाग लिने तयारसमेत गरेका यी दुई पार्टीबीच खटपट शुरु भएको हो ।

बुधबार साँझ जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा बसिरहनुको कुनै अर्थ नभएको भन्दै आफ्ना पार्टीका नेताहरुसँग कुराकानी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार छाड्ने सन्देश पुर्याएका थिए ।

जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिए पनि रौतहटको गौरमा २७ जनाको मृत्यु भएको घटनाको फाइल खोल्ने चेतावनी दिँदै प्रचण्डले सरकार छाडे पनि फाइल खोलि छाड्ने जवाफी सन्देश फर्काएको स्रोतको दाबी छ ।

१७ वर्षअघि भएको हत्याकाण्डबारे छानबिन गर्ने गरी गृह मन्त्रालयले घटनाका पीडितसँग मंगलबार पाँच बुँदे सहमति गरेपछि जसपाका अध्यक्ष यादव झस्किएका थिए । मन्त्रालयमा भएको सहमतिको १ नम्बर बुँदाले गौर हत्याकाण्डको फाइल खोल्ने देखिएको छ ।

‘उक्त घटनाको विषयमा तत् समयमा दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने’, सहमतिमा उल्लेख गरिएको छ ।

यो सहमति आफू र आफ्ना कार्यकर्ता फसाउनका लागि नै भएको भन्दै जसपा अध्यक्ष यादव झस्किएर सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत प्रधानमन्त्री प्रचण्डलाई गौर हत्याकाण्डको फाइल खोलेमा सरकार छाड्ने सन्देश पठाएकोमा प्रचण्डले पनि जवाफी सन्देश फर्काएको स्रोतको दाबी छ ।

बुधबार यादवले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेर प्रधानमन्त्री प्रचण्डलाई यस्तो सन्देश पठाएका थिए । देउवासँगको भेटमा यादवले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईंलाई अप्ठ्यारो पारेजस्तै अहिले आफूलाई अप्ठेरो पार्न प्रधानमन्त्री दाहाल उद्धत रहेकोे’ भन्दै फाइल खोल्ने सुरसार भएकाले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने बताएका थिए ।

स्रोतका अनुसार देउवाले आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै तत्काल सरकार छाड्ने निर्णय नलिन यादवलाई आग्रह गरेको भए पनि प्रचण्ड सकारात्मक बन्न नसकेको र पार्टीभित्र यो फाइल खोल्न दबाब रहेको बताएका थिए । देउवा र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको भेटमा प्रचण्डले जसपा गए पनि रौतहट काण्डको फाइल खोल्ने बताएका थिए ।

माओवादीले उपेन्द्र यादवलाई बाहिर राखेर राप्रपालाई सरकारमा ल्याउन सक्ने भन्दै गौर हत्याकाण्डको फाइल खोल्न तयार भएको स्रोतको दाबी छ । यद्यपि राप्रपा संघीय सरकारमा माओवादीसँग सहकार्य गर्न तयार भएको छैन । स्रोतले जसपा बाहिरिए राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याउने तयारी प्रचण्डले गरेको सूचना देउवामा पुर्याएको छ ।

राप्रपालाई केन्द्र सरकारमा समावेश गराउँदा कोशी प्रदेशमा पनि गठबन्धन बलियो हुने र कांग्रेस नेतृत्वको सरकार टिक्ने वचन प्रचण्डले देउवालाई दिएको स्रोतको दाबी छ । यादवले प्रधानमन्त्री प्रचण्ड आफूसँग सकारात्मक नदेखिएपछि मंगलबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका भन्दै देउवाकोमा खबर पठाइएको पनि प्रधानमन्त्री निकट स्रोतको दाबी छ ।

तर ओली निवास बालकोटमा उपेन्द्र यादव नगएको र ओलीसँग भेटघाट नभएको एमालेका एक उपाध्यक्षले बताए । सरकारबाट बाहिरिनेबारे बुधबार पार्टी कार्यालय बालकुमारीमा यादवले उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यसँग छलफल गरेका थिए । १७ वर्षअघि रौतहटको गौरमा माओवादीको सभा बिथोल्ने क्रममा भएको आक्रमणमा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको घटनामा यादवको हात रहेको पीडितहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार ०९:००