सूचनाको शक्ति - The Power Of Information

        

उडिरहेको बाजको पन्जाबाट जब जिउँदो सर्प मानिसमाथि बज्रियो !

अमेरिकाको टेक्ससमा एक महिला एकैपटक बाज र सर्पको दोहोरो आक्रमणमा परेको घटना सार्वजनिक भएको छ । सिकार गर्न सर्प समातेर उडेको एउटा बाजको पन्जाबाट फुत्किएको सर्प अचानक उनको शरीरमाथि खसेको थियो ।

घरबाहिर बगैँचामा घाँस काट्दै गर्दा ६४ वर्षीया पेगी जोन्ससँग गत महिना उक्त अकल्पनीय घटना भयो । केही बेरअघिसम्म कालको मुखमा परेको सर्प उनीमाथि खसेपछि आत्तिएर त्यो उनीमाथि जाइ लाग्यो भने आफ्नो पन्जामा परिसकेको आहार फुत्किएपछि रिसाएको उक्त सिकारी पक्षीले पनि उनलाई झम्टियो ।

सर्पले पेगी जोन्सको पाखुरामा बेरिएर उनको अनुहारतिर डस्न खोज्यो भने बाजले उनलाई बारम्बार चिथोर्यो । उक्त भयानक घटनामा जोन्सको पाखुरा र अनुहारमा चोट लागेको थियो । यो घटना जुलाई २५ मा लुइजियानाको सीमानजिकै टेक्ससको सिल्स्बीमा भएको हो ।

आकाशबाट सर्प खसेपछि पेगी जोन्सले त्यसलाई आफ्नो शरीरबाट हटाउनुअघि नै बाजले उनलाई झम्टिन थालेको थियो । ‘मैले हात झट्कारेर सर्पलाई पर हुत्त्याउन खोजेकी थिएँ तर त्यो त मेरो पाखुरामा पो बेरियो,’ उनले अमेरिकी साझेदार सीबीएस न्यूजसँग भनिन् ।

‘सर्पले मेरो अनुहारमा डस्न खोजिरहेको थियो । मेरो चस्मामा धेरै पटक आक्रमण गर्यो । मैले हात झट्कारिरहेँ, उसले डस्न खोजिरहेको थियो र मेरो हातमा झुन्डिइरह्यो,’ उनले भनिन् । रूखमुनि नभई खुला ठाउँमा भएका कारण आकाशबाट कुनै सिकारी चराले नै सर्प खसाएको उनलाई लागेको थियो ।

तत्काल बाजले आक्रमण गर्न थालेपछि उनको अनुमान सही प्रमाणित भयो । ‘जुन गतिमा सर्प बज्रियो त्यही गतिमा बाज झुल्कियो,’ उनले भनिन् । ‘बाजले मेरो पाखुरामा बेरिएको सर्पलाई अँठ्यायो र पाखुरै थुतेर लैजाला जसरी जोडले तान्यो । बाजले सर्प थुतिसकेपछि मेरो पाखुरा पनि हुत्तियो,’ उनले भनिन् ।

‘मरिन्छ जस्तो लागेको थियो’

उनको पाखुराबाट सर्प फुत्काउन बाजले निकै सङ्घर्ष गर्नुपरेको थियो । आफ्नो आहार थुत्ने क्रममा पेगी जोन्सलाई बाजले कैयौँ ठाउँमा चिथोर्यो । बाजले सर्प खोसेर लगेको घटना सुनेर छक्क परेका उनका पतिले जोन्सलाई अस्पताल दौडाए ।

‘मेरो शरीरमा कैयौँ ठाउँमा काटेको थियो, चिथोरेका आला डाम र गम्भीर चोटहरू थिए,’ उनले भनिन् । उनका अनुसार सर्पले उनको अनुहारमा आक्रमण गर्दा चस्मा पनि बिग्रिएको थियो । जोन्स उक्त घटनालाई भयानक मान्छिन् । सर्प र बाज दुवैले आक्रमण गर्दा आफूलाई मरिन्छ जस्तो लागेको उनी बताउँछिन् । त्यसपछि उनी अनिद्राको सिकार भएकी छन् ।

टेक्ससको ग्रामीण भेगमा बस्ने उनका अनुसार जङ्गली जनावरहरूसँगको जम्काभेट उनका लागि नौलो कुरो होइन । ‘मैले बाजले सर्प बोकेर उडेको पनि देखेकी थिएँ । तिनले त्यसो गर्छन् र आफ्नो सिकार त्यसरी नै मार्छन् भन्ने पनि थाहा थियो,’ उनले भनिन् । तर यो घटना अब उनले अब कहिल्यै बिर्सिने छैनन् ।

स्रोत : बीबीसी
प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १६:२३