सूचनाको शक्ति - The Power Of Information

        

देशभरि बाढीपहिरोको वितण्डा

यस वर्ष सुरू भएको मौसमजन्य विपद्बाट हालसम्म ३७ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ४९ जना घाइते भएका छन् । त्यसैगरी १ सय १२ घर पूर्ण रूपमा क्षति भएको छ भने १ सय ४९ घरमा आशिंक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

वर्षाका कारण ४५ जिल्ला प्रभावित भएको छ । बाढी र पहिरोका कारण मुलुकका मुख्य राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् । बाढी र पहिरोका कारण मुख्य तथा सहायक राजमार्ग र सरकारी तथा निजी सम्पत्ति ४ अर्ब ४५ करोड भन्दा बढीको भौतिक क्षति भएको छ ।

बाढी र पहिरोले अहिलेसम्म २० हजारभन्दा बढी मानिस मुलुकभर प्रभावित भएका छन् । बाढी र पहिरोका कारण घर गोठ भत्किएर अलपत्र परेका मानिसलाई सुरक्षा निकायको समन्वयमा सुरक्षित स्थानमा लैजाने काम भएको छ भने विभिन्न सामाजिक संघसंस्थाले खानपानको व्यवस्था गर्नुका साथै सरकारले पनि राहत उपलब्ध गराएको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार ०७:४३