सूचनाको शक्ति - The Power Of Information

        

सुनसरी र मोरङमा आरीघोप्टे वर्षा, बाढीको चेतावनी

 सुनसरीको तरहरा र मोरङको हरैँचा, विराटनगरलगायत आसपासका क्षेत्रमा आरीघोप्टे वर्षा भएको छ ।

गएकाे तीन घण्टामा भएको आरीघोप्टे वर्षाका कारण त्यस क्षेत्र भएर बग्ने नदीहरूको बहाव बढ्ने जोखिम रहेको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएकाे छ ।

केन्द्रले सूचना निकालेर सिंघीया खोला, खेसलिया, बुढीखोला, चिसाङ खोला, लोहन्द्रा खोलालगायत आसपासका स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा बेलुका ७ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै चितवनको ठोरी, मकवानपुरको राजैया, ओखलढुङ्गा, नवलपुर, बर्दियालगायतका क्षेत्रमा पनि ठूलो पानी परिरहेको छ । अहिले देशका सबैजसो ठाउँको मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १७:५१