सूचनाको शक्ति - The Power Of Information

        

पाँच करोड लगानी गरेर बाख्रापालनमा जम्दै निर्माण व्यवसायी

बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेश चन्दले भारतबाट उन्नत जातका बाख्रा ल्याएर बाख्रापालन सुरु गरेका छन् । ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहेका चन्दले थालेको बाख्रापालन धेरैलाई आकर्षित गर्ने किसिमको छ ।

१५० वटा उन्नत जातका बाख्रा रहेको उनको फार्ममा पाँच करोड लगानी भइसकेको छ । भारतको राजस्थानबाट ल्याएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्रा फार्ममा रहेका चन्दले जानकारी दिए । उनको फार्ममा सिरोही जातको ‘भीम’ नाम गरेको बोकासमेत छ, जसको तौल १८० किलो छ ।

‘पाँच–छ उन्नत जातका बाख्रा फार्ममा छन् । उन्नत जातका बाख्रा छिटो बढ्ने र फाइदा पनि राम्रो हुने भएकाले स्थानीय जातभन्दा उन्नत जात छनोट गरिएको हो,’ उनले भने । बाख्रा पाल्नकै लागि चार तलाको पक्की घर बनाएका उनले गत वर्ष स्थानीय खरी जातको बाख्रापालन सुरु गरेका थिए ।

अहिले सिरोही, तोतापरी लगायत उन्नत जातका गरी उनको फार्ममा १५० वटा बाख्रा छन् । उनको फार्ममा ६ जनाले रोजगारी पाएका छन् । ‘यहाँ भएका बाख्राको बिहान नियमितरुपमा स्वास्थ्य जाँचका लागि पशु प्राविधिक राखेका छौँ । बाख्राको स्याहार, सरसफाइ तथा चरनका लागि अन्य पाँच जनालाई रोजगारी दिएका छौं,’ उनले भने ।

बर्खायाममा चरनको समस्या टार्न हुने भएकाले फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको चन्दले बताए । पेसाले निर्माण व्यवसायी भए पनि कृषि क्षेत्रमा केही गर्ने उद्देश्यले बाख्रापालन थालेको उनको भनाइ छ ।

‘गाउँमा मलामी र विवाहका लागि युवा भेटिन छोडेका छन् । सबै युवा विदेश पलाएन भएका छन् । स्वदेशमै व्यवसाय गरेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि बाख्रापालन थालेको हुँ,’ चन्दले भने ।

बाख्रापालनसँगै आगामी दिनमा कालिज, गाई, भैँसी र बङ्गुरपालन पनि गर्ने योजना उनले बताएका छन् । बुवाबाजेको पालादेखिको जमिन खाली हुन थालेपछि त्यसलाई संरक्षण गरी चरनका लागि उपयोग गरिरहेको चन्दले बताए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार १७:५१