सूचनाको शक्ति - The Power Of Information

        

फर्पिङ जलविद्युत् केन्द्रमा ऊर्जा संग्रहालय

नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ५०० किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युतलाई उर्जा सङ्ग्रहालय बनाउने भएको हो ।

यसका लागि प्राधिकरणले केन्द्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न एनइए इञ्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्यत् केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचना निर्माण गरिने प्राधिकरणको भनाइ छ ।

काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुराँ, पसल, जीप लाइन, पिकनिक स्पट, पुस्तकालय, बालउद्यान लगायतका संरचना निर्माण गरिने छन् । जलविद्युत् केन्द्रका संरचनालाई जीर्णोद्वार गरी सङ्ग्रहालयको रुपमा विकास गर्ने योजना छ ।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब रु एक अर्ब लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा ३२४ रोपनी जग्गा छ । पर्यटकीय संरचना निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युतगृह क्षेत्रको करिब १४६ रोपनी जग्गा प्रयोग गरिने छ । फर्पिङ जलविद्युत् केन्द १९६८ जेठ ९ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो ।

तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राज परिवार, राणा परिवार लगायत विद्युत् वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत रु सात लाख १३ हजार थियो ।

केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालु हालतमा राखिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १५:२९