सूचनाको शक्ति - The Power Of Information

        

छोटी भन्सार नहुँदा समस्या, राजस्व सङ्कलन लक्ष्यभन्दा कम

बाँकेस्थित नेपाल–भारत मुख्य नाकामा रहेको नेपालगन्ज भन्सार कार्यालयले गत केही वर्षयता राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेको छैन । नेपालगन्ज भन्सार कार्यालयका अनुसार केही वर्षयता हरेक वर्ष निर्धारण गरिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भइरहेको छ ।

भन्सारका एक अधिकृतका अनुसार राजस्व सङ्कलन घट्नुको एक प्रमुख कारण सशस्त्र द्वन्द्वका बेला बन्द गरिएका बाँके जिल्लाका छोटी भन्सार कार्यालयहरू अझै पुनस्र्थापना नहुनु पनि हो । स्थानीयका अनुसार जिल्लाका विभिन्न नाकामा स्थापना गरिएका सात वटा छोटी भन्सार कार्यालय लामो समयदेखि सञ्चालनमा नरहेकाले ती नाका अवैध आयात निर्यातको प्रमुख केन्द्र बन्दै गएका छन् ।

छोटी भन्सार नभएका नाकाबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठुलो परिमाणको मालसामान राजस्व छलेर नेपाल भित्रिने गरेको प्रत्यक्ष देखिएको उनीहरूको भनाइ छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले छोटी भन्सार नहुँदा राजस्व चुहावट लामो समयदेखि हुँदै आएकाले पनि राजस्व सङ्कलन प्रभावित हुँदै गएको बताए । उनले विगतमा छोटी भन्सार रहेका विभिन्न नाका अहिले तस्करीको केन्द्र बनेको पनि बताए ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार बाँकेको सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साई गाउँ र साई गाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय रहेका थिए तर लामो समयदेखि ती सबै छोटी भन्सार कार्यालय बन्द रहेका छन् । नरैनापुर, खडैचा, साइगाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेको भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकृत शर्माले आर्थिक वर्ष २०७८–०७९ मा लक्ष्यभन्दा १२ प्रतिशत कम राजस्व सङ्कलन भएको जनाउँदै आव २०७९–०८० मा झनै राजस्व सङ्कलन घटेर लक्ष्यभन्दा ३८ प्रतिशत कम राजस्व सङ्कलन भएको बताए । उनले राजस्व सङ्कलनको लक्ष्य पूरा नहुनुमा धेरै कारण रहेकामा एक प्रमुख कारण छोटी भन्सार नहुनु वा ग्रामीण क्षेत्रबाट राजस्व छलेर सामान भित्रिनु पनि रहेको बताए ।

विभिन्न ग्रामीण क्षेत्रको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनस्र्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाइ छ । बाँकेको सिमाना भारतसँग ६५ किलोमिटर खुला छ । साइड नाकाहरूमा नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति रहेकाले गर्दा भन्सार छली निकै हुने गरेको जनाइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १४:५३