सूचनाको शक्ति - The Power Of Information

        

डक्टर्स आर्टिकल

डेंगु ज्वरो घटेको ‘४८ घण्टा’ क्रिटिकल !

चिकित्सकले परीक्षण गर्दा कलेजोको आकार बढेको र पेट वा छातीमा पानी जमेको हुन्छ ।

हाल धरानमा डेंगु घरघरमा देखिने र बढ्ने क्रम जारी छ । यस्तो अवस्थामा सबै संक्रमित अस्पताल जाने र भर्ना हुने अवस्था हालको सिमित शय्याले धान्ने अवस्था हुँदैन । काठमाडौँमा पनि गत वर्ष डेंगुले महामारीको रुप लिँदा अधिकांश घर घरमा बसेर स्वास्थ लाभ गरेका थिए । जहिले पनि महामारीको अवस्था सिर्जना हुँदा भएका र उपलब्ध अस्पतालका शैय्याहरु सबै संक्रमितलाई भर्ना गरि उपचार गर्न पर्याप्त हुँदैन ।

यस्तो अवस्था विकशित देशमा पनि हुने कोभिड–१९ को महामारीमा नै देखाइसकेको छ । तसर्थ अधिकांश संक्रमित घरमा अलग्गै बस्ने र स्वास्थमा विशेष परिस्थिति सिर्जना जस्तैः अक्सिजनको स्तर घटेमा तुरुन्तै अस्पताल जाने सल्लाह दिने गरिन्थ्यो । कोभिड–१९ को यहि मोडेल काठमाडौँ डेंगु महामारीमा पनि लागु भएको थियो । संक्रमित भै घरमा बसेको अवस्थामा जटिल डेंगुका (चेतावनिका संकेतहरु) संकेतहरु देखिए तुरुन्त अस्पताल जान सल्लाह दिने गरिएको थियो ।

हाल धरान लगाएतका बिभिन्न ठाउँहरुमा डेंगु विस्तार हुँदै गर्दा भएका अस्पतालका शय्याहरु पर्याप्त नहुँदा धेरै संक्रमित घरमा बस्नु पर्ने बाध्यता हुनेछ । तसर्थ कोभिड–१९ को मोडेल अहिलेको धरान डेंगु महामारीमा पनि लागु गर्न सकिन्छ । ‘कोभिड–१९ मोडेल’ मा जस्तै डेंगुमा पनि यसको जटिल अवस्थाका संकेतहरु थाहा पाउन अति आवश्यक हुनेछ । डेंगु रोगलाई फेवराइल, क्रिटिकल, र रिकभरी फेज गरि तीन अवस्थामा बाँडिएका हुन्छन ।

फेवराइल फेज समानतय २ देखि ७ दिनको हुने गर्दछ । यो अवस्थामा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांशपेशीका र जोर्नी असाध्य दुख्ने, शरीरमा स–साना राता बिबिरा देखिने आदि जस्ता लक्षणहरु देखिने गर्दछ । धेरैमा ज्वरो घटेपछि विस्तारै सुधारउन्मुख हुदै जान्छ । गत बर्षको काठमाडौँ महामारीमा ८ देखि १० दिनमा बिरामीमा ज्वरो घटेर स्वस्थलाभ गर्ने गरेका थिए ।

तर कतिपयमा भने ज्वरो घटेसंगै क्रिटिकल फेज वा जटिल डेंगु देखिन शुरु हुन्छ । यहि समय नै संक्रमितको लागि महत्वपूर्ण र सतर्कता अपनाउनु पर्ने अवस्था हो । क्रिटिकल फेज वा जटिल डेंगुको जोखिम २४ देखि ४८ घन्टाको हुने गर्दछ । तारन्तार बान्ता हुनु, असाध्य पेट दुख्नु, अति अलश्य हुनु, रक्तश्राप जस्तै, गिजा, नाक आदिबाट रगत बग्नु जस्ता समस्या बिरामीले अनुभब गर्न सक्दछन भने प्रयोगशाला परिक्षण गर्दा रगतमा प्लेटेलेट्सको संख्या तिब्र गतिमा घट्ने र हेमाटोकृत बढेको पाहिन्छ । चिकित्सकले परीक्षण गर्दा कलेजोको आकार बढेको र पेट वा छातीमा पानी जमेको हुन्छ ।

तसर्थ घरमा संक्रमित भै बसेको अवस्थामा ज्वरो घटेसंगै तारन्तार बान्ता हुने, असाध्य पेट दुख्ने, अति अलश्य हुने, रक्तश्राप आधी देखिएमा त्यो जटिल डेंगु हुनसक्ने र तुरुन्त अस्पताल जानुपर्दछ । तर ४८ घण्टा पार गरे वा सो अवधिमा जटिलताहरु देखिएन भने बिरामीले स्वस्थलाभ गर्दै जानेछ । तसर्थ डेंगु संक्रमितले घरमा बसिरहेको अवस्थामा माथि उल्लेखित जटिल डेंगुका लक्षणहरुलाई बेवास्ता गर्नुहुँदैन । र संगसंगै चिकित्सकको सल्लाह र आवश्यकता अनुसार रगतको जाच पनि गर्नुपर्दछ । (डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १०:०३