सूचनाको शक्ति - The Power Of Information

        

मदिरा पिउन अब लाइसेन्स अनिवार्य

जुम्लाको गुठीचौर गाउँपालिकाले मदिरा सेवन गर्नेलाई अनिवार्य लाइसेन्स बनाउनु पर्ने नियम लागु गरेको छ । गाउँपालिकाले मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि बनाएर मदिराका लागि ‘लाइसेन्स’ लिनुपर्ने भएको हो ।

गाउँपालिकाले भदौ १ गते अगावै मदिरा सेवन गर्न चाहने सबैले मदिरा सेवन कार्ड र अन्यन्त्रबाट आएका पाहुनाले मदिरा सेवन कार्ड बनाउनुपर्ने बताएको छ । कार्यविधिअनुसार विद्यालय, स्वास्थ्य केन्द्र, सार्वजनिक स्थल, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा ५ सय मिटर टाढाको दूरीमा मात्र मदिरा विक्री गर्न पाइने छ ।

कार्यविधिअनुसार मदिरा सेवनकर्ताले दैनिक रुपमा १८० मिलिलिटर, वियरका परिकार १ वोत्तल पिउनेले वार्षिक रुपमा ५ सय राजश्व बुझाउनु पर्नेछ ।  अतिथि कार्ड भएकाले मदिरा पिउन चाहेमा दैनिक एक सय रुपैयाँ राजश्व बुझाउनु पर्नेछ  ।

त्यस्तै, विक्रीकर्ताले बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म बिक्री वितरण तथा ओसारपोसार गर्न पाउने छन् भने सेवनकर्ताले बेलुकी ६ बजेदेखि राति ९ बजेसम्ममा मात्र सेवन गर्न पाउने छन् ।

गाउँपालिकाका प्रवक्ता अर्जुन महतराका अनुसार कार्यविधि लागू गर्न पालिकाले साउन महिनाभर हरेक गाउँबस्ती र टोलमा मदिराविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने काम भैरहेको छ ।

कार्यविधिमा मदिरा पसलले अन्य दैनिक उपभोग्य वस्तु राख्न नपाउने र विक्रेताले कार्यविधि उल्लंघन गरेमा हरेक पटक १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था पनि गरिएको उनले बताए ।

‘मदिरापान गरी होहल्ला गर्नेका हकमा भने पहिलो पटक एक हजार रुपैयाँ र कसुरैपिच्छे दुई हजारका दरले जरिवाना बढ्दै जाने कार्यविधिमा उल्लेख छ ।

हेर्नुहोस् कार्यविधि

bigyapri

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १६:४२