पछिल्ला दिन लगातार ओरालो लाग्दै आएको शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको गिरावट आयो ।
नेप्से २९ अंकले घटेर २ हजार ७७ मा थामियो । कारोबार २ अर्ब तलै खुम्चियो । मात्र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक बाँकी सबै समूह रातो रहे ।
निर्जीवन बीमा र वित्त समूहमा सबैभन्दा उच्च अढाई प्रतिशत बराबरको गिरावट आयो । होटल तथा पर्यटन, विकास बैंक र जीवन बीमा समूह पनि २ प्रतिशत हाराहारीमा ओरालो लागे । बाँकी समूहमा पनि करिब १ प्रतिशतको गिरावट आयो ।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६२ कम्पनीको ६० लाख कित्ता शेयर जम्मा १ अर्ब ९२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । मंगलबार १ सय ९६ कम्पनीको मूल्य घट्दा जम्मा १७ कम्पनीको मूल्य बढ्यो ।
मंगलबार सबैभन्दा उच्च अपर तामाकोशी हाइड्रोको ८ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको एक्सचेन्जले जनाएकोछ ।
सत्यपाटी संवाददाता । काठमाडौँ