सूचनाको शक्ति - The Power Of Information

        

गत आर्थिक वर्षमा २१ प्रतिशतले घट्यो निर्यात

सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९–८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ ।

गत आवमा रु एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले कूल पैठारीमा १६ दशमवल एक प्रतिशतले ह्रास आएको जानकारी दिए ।

गत आवमा रु १६ खर्ब ११ अर्बको वस्तु आयात भएको थियो । गत आवमा नेपालको कूल वैदेशिक व्यापारमा पनि गिरावट आएको छ । सो आवमा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी हो ।

‘गत आवको प्रारम्भिक तथ्याङ्कअनुसार कूल व्यापारमा ८ दशमलव ९ प्रतिशत निकासी र ९१ प्रतिशत पैठारीको योगदान छ,’ उनले भने, ‘समीक्षा अवधिमा नेपालको कूल निकासी २१ दशमलव चार प्रतिशतले ह्रास आएको छ ।’ आव २०७८–०७९ मा निकारी पैठारी व्यापारको अनुपात १ः९.६ रहेकामा गत आवमा सो अनुपात १ः१० पुगेको सचिव मरासिनीले जानकारी दिए ।

उनले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनका लागि सरोकारवाला निकायका सचिवसँग छलफल गरिएको बताए । उद्योगमन्त्रीको अध्यक्षतामा बोर्ड अफ ट्रेडको बैठक सम्पन्न भई नेपालको निर्यात व्यापार प्रवद्र्धनका सम्बन्धमा महत्वपूर्ण निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १५:०४