सूचनाको शक्ति - The Power Of Information

        

ग्यासको भाउ ह्वात्तै घट्दै, आकासिँदै अरु इन्धनको मूल्य

लामो समयपछि १५ दिनअघि १० रुपैयाँ घटेको खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर फेरि अझै ह्वात्तै घट्ने भएको छ ।

मंगलबार भारतीय आयल निगम (आइओसी) बाट ग्यासको मूल्य प्रतिसिलिन्डरमा १०० रुपैयाँले घटेर आएपछि सोही अनुसार मूल्य घट्ने भएको हो ।

१५ दिनअघि नै नेपालमा स्वचालित प्रणाली लागू भएकाले अब सोहीअनुसार मूल्य घट्ने नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।

उनले भने, ‘ग्यासमा घटेर आएको छ, पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा बढेर आएको छ । अब त्यसमा भ्याट जोडेर मूल्य घटबढ हुन्छ ।’ साँझ बस्ने बोर्ड बैठकले मूल्य निर्धारण गर्नेछ ।

भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर आठ, डिजेल प्रतिलिटर सात, मट्टितेल प्रतिलिटर सात रुपैयाँ ५० पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर आठ रुपैयाँ ५० पैसाका दरले बढेर आएको छ ।

त्यसमा भ्याट मिलान गरेर मूल्य सार्वजनिक गरिने छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । प्रवक्ता ठाकुरले घटबढ भएर आएको रकममा भ्याट मिलान गरेर मूल्य पनि सार्वजनिक हुने बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १५:००