सूचनाको शक्ति - The Power Of Information

        

महानिर्देशककै मिलेमतोमा श्रमिकसँग रकम असुल्दै मेनपावरको ठगीधन्दा

नेपालबाट मलेसियामा कामदार पठाउँदा फ्री भिसा फ्री टिकटमा पठाउनुपर्ने ब्यवस्था छ । सामाखुसी सिर्जनाटोलमा रहेको विन रिक्रुटमेन्ट प्रालि नामक म्यानपावरले मलेसिया जाने नेपाली श्रमिकसँग ३ लाख रुपैयाँ लिएको खुलेको छ ।

विन रिक्रुटमेन्ट म्यानपावरले मलेसियाको सी पेपर इन्ड्रष्ट्रिजमा पठाएका कामदारहरुबाट प्रतिब्यक्ति ३ लाख रुपैयाँ लिएको खुलेको छ । सी पेपर कम्पनीले काठमाडौंमा बसेको होटलको बिल समेत तिर्ने गरी श्रमिक माग गरेको थियो । तर वीन रिक्रुटमेन्टका संचालक माधव कार्की ‘सुशील’ले प्रतिब्यक्ति ३ लाख लिएर कामदार पठाएका थिए ।

जुन कुरा श्रमिकले मलेसियाको कम्पनीका संचालकलाई भनेका थिए । सी पेपरले फ्री भिसा फ्री टिकटमा श्रमिक माग गरेको भए पनि नेपालस्थित वीन रिक्रुटमेन्टले श्रमिकसँग ३ लाख रुपैयाँ प्रतिब्यक्ति लिएकाले उक्त म्यानपावरसँगको कामदार पठाउने सम्झौता खारेज गर्नका लागि बैदेशिक रोजगार विभागमा पटक पटक पत्राचार गर्यो ।

सीपेपर मलेसियाका डाइरेक्टर ली सिउ लिङले बैदेशिक रोजगार विभागको इमेल ठेगानामा कामदार पठाउने सम्झौता खारेज गर्न आग्रह गरे । विभागले त्यसको सुनुवाइ नगरेपछि मलेसियास्थित नेपाली राजदूताबास, मलेसियामा रहेका श्रम सहचारीलाई समेत वीन रिक्रुटमेन्टसँगको कामदार पठाउने सम्झौता खारेज गरिदिन आग्रह गरी असारको पहिलो साता नै पत्र पठाए पनि सुनुवाइ नगरी गुपचुप पारिएको छ ।

विभागका महानिर्देशक मदन दाहालले नै कानुन बिपरीत नेपाली कामदारसँग ३ लाख ठगी गर्ने वीन रिक्रुटमेन्ट प्रालिका सञ्चालक माधव कार्कीलाई संरक्षण गर्दै आएको आरोप छ । महानिर्देशक दाहालले सुरुमा गुनासो नै नआएको बताए पनि पछि आएको रहेछ भने । मलेसियाको दूताबासमा सम्पर्क गरी कारबाही गर्ने बताएको पनि १ महिना बढी भइसकेको छ । तर उनले कारबाही नगरी जोगाउने काम गरेका छन् ।

लाइसेन्स नम्बर १३८३–०७४–०७५ रहेको वीन रिक्रुटमेन्ट म्यानपावरले फ्री भिसा फ्री टिकटमा पठाउनुपर्नेमा ३ लाख रुपैयाँ लिएको नेपाली श्रमिकले गुनासो गरेकाले कारबाही गर्नुपर्नेमा आर्थिक चलखेलमै जोगाउने काम गरेको विभागकै एक अधिकारीले बताएका छन् । वीन रिक्रुटमेन्ट प्रालि यसअघि पनि कामदार ठगीमा कारबाहीमा परेको थियो ।

२०७६ पुस ८ मा विभागले गरेको आकस्मिक अनुगमनमा उक्त म्यानपावरको कैफियत देखिएपछि कारबाहीमा परेको थियो । जसका कारण सी पेपर जस्ता मलेसियाका राम्रा कम्पनीले नेपालबाट कामदार नलगी अफ्रिका, फिलिपिन्स र बंगलादेशबाट लानुपर्ने बाध्यता आउने गरेको छ । बैदेशिक रोजगार विभागका महानिर्देशक दाहालले श्रमिकसँग कानुन बिपरीत रकम लिने म्यानपावरको संरक्षण गर्दा मलेसियाको एउटा राम्रो कम्पनीमा नेपाली कामदार जानबाट बन्चित हुने भएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १२:३७