सूचनाको शक्ति - The Power Of Information

        

मालिकार्जुनमा भेटिए सोह्र जनामा हेपाटाइटिस संक्रमित

दार्चुला । मालिकार्जुन गाउँपालिका– ३ का १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘ई’ को संक्रमण देखिएको छ । जिल्ला अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले ११६ जनाको स्वास्थ्य परिक्षण गर्दा १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘ई’ फेला परेको हो ।
जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुरेन्द्रप्रसाद भट्टका अनुसार १६ जनामध्ये चार पुरुष र दुई महिला बढी संक्रमित भएका पाइएको छ । उनीहरुलाई जिल्ला अस्पतालमा ल्याई उपचार गरिने डा भट्टले बताए । प्रदूषित पानीका कारण सो रोगबाट संक्रमित भएका उनले बताए ।
मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा तीन दिनसम्म सर्वसाधारणको स्वास्थ्य परिक्षण गरिएको थियो । हेपाटाइटिस ‘ए’ र ‘इ’ को संक्रमण देखिएमा शरीर दुख्ने, वाकवाक आउने, सामान्य ज्वरो आउने, थकान महसुस हुने, खाना खान मन नलाग्ने, आँखा र छाला पहेँलो हुने, पेट दुःख्नुका साथै रुघाखोकीको लक्षण देखिन्छ । रोग लाग्नबाट बच्न हात धुन, खानेकुरालाई राम्ररी पकाएर मात्र खान तथा उमालेको पानी पिउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रकाशित मिति : १२ असार २०७५, मंगलवार ०८:३५