प्युठान जिल्लामा पर्याप्त मात्रामा उत्पादन नहुँदा स्थानीयले चाडबाड, पूजापाठ र आवश्यक समयमा दुध–दही नपाउने समस्या रहेको छ । जिल्लामा दुधको व्यापार गर्न खोलिएका डेरीले माग भएजति दुध बेच्न पाएका छैनन् भने उपभोक्ताले चाहेजति दुध–दही पाउन सकेका छैनन् ।
अहिले बजारमा दुधको माग बढी भएको शिवालय दुग्ध सहकारी संस्था लिमिटेडका भोजबहादुर बस्नेतले बताए । ‘हाम्रो सहकारीबाट अहिले बढीमा दैनिक ३०० लिटरसम्म दुध उत्पादन गरी बिक्री हुँदै आएको छ,’ उनले भने, ‘सुख्खा सयमा १०० लिटर मात्र उत्पादन हुने गरेको छ ।’
जिल्लामा दुधको अभाव भए पनि अन्य सिजनमा डेरी पसलले दुध नलिने समस्या रहेको उनको भनाइ छ । जिल्ला सदरमुकाम खलङ्गा, बाग्दुला, विजुवार, जुम्री लगायत क्षेत्रमा सञ्चालन भएका डेरी उद्योगले जिल्ला बाहिरबाट दुध ल्याएर बिक्री गर्ने गरेका छन् ।
उनीहरूले दाङ, कपिलवस्तु लगायत ठाउँबाट दुध ल्याएर विक्री गर्ने गरेको बताउँछन् । ‘सदरमुकाम खलङ्गामा आवश्यक दुध पाइँदैन,’ स्थानीय जुमानसिंह केसीले भने, ‘पर्याप्त उत्पादन नहुँदा यो समस्या भएको हो ।’
गाउँमा भैँसी पाल्ने किसान कम हुनु र जिल्लामै व्यवसायी दुध उत्पादनका लागि गाई, भैँसीको फर्म धेरै नभएकाले समेत उत्पादन कम भएको उनको भनाइ छ । जिल्लामा वार्षिक १८ हजार ५३ मेट्रिक टन दुध उत्पादन हुने सरकारीको तथ्याङ्क छ ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका प्रमुख भाष्कर पौडेलले दैनिक ५०० लिटर दुध बाहिरी जिल्लाबाट आउने गरेको बताए । ‘करिब ५० को सङ्ख्यामा व्यावसायिक फार्म छन्,’ उनले भने, ‘परम्परागत रूपमा पनि दुध उत्पादन भइरहेको छ ।’
सत्यपाटी संवाददाता । प्युठान