बाँके । कुनै बेला वेश्यावृत्तिका लागि महिला बेचिएको सुनिन्थ्यो, लेखिन्थ्यो । पछिल्लो समयमा अंग बेचबिखन लगायत अनेक प्रयोजनका लागि मानव बेचबिखन हुने गरेका घटनाहरू बाहिरिने गरेका छन् । प्रहरीका अनुसार हतियार, लागूपदार्थपछि मानव बेचबिखन विश्वस्तरमै तेस्रो अपराध मानिएको छ ।
मानव शरीरभित्र हुने सुन्दरता निखार्ने तन्तुका लागिसमेत मानव बेचिने गरेको पाइएको छ । मानव बेचबिखन र नियन्त्रण ऐन २००७ अनुसार कुनै पनि उद्देश्यका लागि मान्छे किनबेच गर्नु, कुनै फाइदा लिएर या नलिएर कसैलाई वेश्यावृत्तिमा प्रयोग गर्नु, कानुनले तोकेविपरीत कसैको शारीरिक अंग निकाल्नु, वेश्यावृत्तिमा लगाउनु आदि मानव बेचबिखनका रूप हुन् ।
कानुनले मानव बेचबिखन गर्नेलाई बीस वर्ष जेल र दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । त्यस्तै, कसैलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउनेलाई १० वर्ष जेल र एक लाख जरिवाना तोकेको छ । यस्ता क्रियाकलापमा संलग्न मात्रै हुनेलाई तीन महिना जेल, पाँच हजार जरिवाना तोकेको छ । तर न्यून व्यक्तिहरू मात्रै कारबाहीको दायरामा आउने माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताए ।
प्रहरीको प्रक्रिया झन्झटिलो हुँदा पनि पीडितहरू उद्धार गर्न अप्ठ्यारो भइरहेको उनी बताउँछन् । ‘शंका लागेको व्यक्तिको दोर्होयाएर बयान लिइँदैन, उजुरीलिँदा संवेदनशीलता खासै अपनाइँदैन, गोपनीयतामा पीडित ढुक्क हुन सक्ने अवस्था छैन,’ उनले भने । मानव बेचबिखनका ट्रेन्डहरू परिवर्तन भइरहने हुँदा यस्ता अपराध न्यूनीकरण हुन नसकेको उनी बताउँछन् ।
‘यसमा संलग्न व्यक्तिहरू प्रहरीभन्दा दुई कदम अगाडि छन्, रुट फेरीफेरी यस्ता आपराधिक काम गरिरहेका छन्,’ उनले भने । नेपालमा विपद्, सहज वैदेशिक रोजगारी, घरेलु हिंसा, अशिक्षा, गरिबी र फितलो कानुन कार्यान्वनका कारण बेचबिखनका घटना बढेका छन् । संयोजक कोइराला भन्छन्, ‘गरिबले व्यवसाय गर्न ऋण पाउँदैनन्, वैदेशिक रोजगारीमा जानका लागि सजिलै ऋण पाउँछन्, ऋण खोज्ने काममा मानव बेचबिखन गर्ने दलाल नै संलग्न छन् ।’
विशेषगरी महिला र बालबालिका बेचबिखनमा पर्ने गरेको तथ्यांकले देखाएको छ । पछिल्लो समयमा इन्टरनेटको बढ्दो प्रयोगले मानव बेचबिखनको जोखिम बढाइरहेको छ । कोइराला भन्छन्, ‘अनलाइनमार्फत अशिक्षितभन्दा शिक्षित बढी फसेका छन्, अनलाइनमा कुरा गरेको भरमा बिहे गर्न तयार हुने प्रवृत्तिले उनीहरू बेचबिखनको सिकार भइरहेका छन् ।’
‘यसमा संलग्न व्यक्तिहरू प्रहरीभन्दा दुई कदम अगाडि छन्, रुट फेरीफेरी यस्ता आपराधिक काम गरिरहेका छन् ।’
माइती नेपाल नेपागन्जका अनुसार बाँके जिल्लाको नेपाल–भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको संख्या बढ्दै गएको छ । भारत र खाडी मुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाँङले पनि अवैधरुपमा रोजगारका लागि खाडी मुलुक जाने महिलाको संख्या बढ्दै गएको देखाएको हो ।
उक्त कार्यालयमा आफन्त खोजीको निवेदन दिनेको संख्या १६ वर्षको अवधिमा करीब पाँच हजार पुगेको तथ्यांकमा उल्लेख छ भने यस वर्षको पाँच महिनाको अवधिमा १५० जनाले आफन्त हराएको निवेदन दिएका छन् । उक्त कार्यालयका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ ।
बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरिबी भएको हुनसक्ने उनकोे भनाइ छ । कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र बाँकी भारतमा हराएको हुनसक्ने अनुमान गरिएको छ । संयोजक कोइरालाका अनुसार विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार संख्यासमेत बढेको छ ।
महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उनी जोड दिन्छन् । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमा नाकाबाट फिर्ता पठाउँदै आएकोे छ ।
।