सूचनाको शक्ति - The Power Of Information

        

सम्पत्ति हत्याउन गोमाको योजनामा मञ्जुको हत्या

कैलालीकी मञ्जु रावलको हत्या आरोपमा संलग्न भएको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल, अछामको पञ्चदेवल विनायक नगरपालिका–६ तोलि बस्ने ३७ वर्षीया सरिता रावल रहेका छन् ।

मृतक मञ्जुका छोरा बिवेक रावलले जेठ १ गते आमाको खोजतलास गरिपाउँ भन्दै ईलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । मृतक मञ्जु रावल र गोमा रावलबीच अंशको विषयलाई लिएर विवाद भइरहेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । जग्गाको विषयलाई लिएर मञ्जु रावलको हत्या गर्ने योजना बनाईएको उनीहरुले प्रहरीलाई बयान दिएका छन् ।

प्रतिवादी सरिता रावलको बयान र उनले देखाएको स्थान कैलालीको मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिमतर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको अवस्थामा मञ्जुको शव आइतबार प्रहरीले फेला पारेको थियो । आफन्त र माइतीले शवको लुगाका आधारमा मन्जुको पहिचान गरेको भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले मन्जुका माइती र आफन्तले शव सनाखत गरेको जानकारी दिए । गोमाकै योजनामा घटनामा अरू व्यक्तिहरू पनि संलग्न भएको पाइएको प्रहरीले जनाएको छ । मृतक मन्जु गोमाकी सौता थिइन् । गोमा जनकबहादुर रावलकी जेठी श्रीमती हुन् । पछि मन्जुलाई जनकले विवाह गरेका थिए ।

तर २०७६ सालमा मन्जु र जनकले सहमतिमै सम्बन्ध विच्छेद गरेको अनुसन्धानबाट खुलेको छ । सम्बन्ध विच्छेद गरेको वर्षदिनपछि जनकको मृत्यु भएको हो । गोमाले मृत्यु भइसकेका आफ्ना श्रीमानको सम्पत्ति पाउनकै लागि मन्जुको हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको चन्दले बताए ।

लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावल जेठ २५ गते वकिललाई भेट्न मसुरीया जान्छु भनि घरबाट गएको र सोही दिनको साँझदेखि बेपत्ता थिइन् । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान र कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १६:१३