पाटेबाघको संरक्षण गर्नकै लागि १३ वर्षअघि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढेको छ । निकुञ्ज स्थापना हुँदा चार वटा मात्र बाघ रहेकोमा हाल २५ भन्दा बढी बाघ पुगेको निकुञ्जले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले निकुञ्ज स्थापना हुँदा चार वटा बाघ रहेकोमा त्यसको आठ वर्षपछि गरिएको गणनामा सो सङ्ख्या २१ पुगेको र १२ वर्षपछि गत वर्ष गरिएको गणनामा २५ पुगेको बताए । उनले निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेर २५ भन्दा बढी पुगेपछि स्वदेशी र विदेशी दुवै प्रकारका पर्यटक आउने क्रम उल्लेखनीय रूपमा बढेको बताए ।
सूचना अधिकारी भुसालले गत आर्थिक वर्ष २०७९–०८० मा ३०२ जना पर्यटक निकुञ्जमा बाघ अवलोकनका लागि आएको जनाउँदै उनीहरूमध्ये २९० जना स्वदेशी, एक जना सार्क देशका र ११ जना विदेशी पर्यटक रहेको बताए । उनले निकुञ्ज स्थापनाको सुरुका वर्षमा बाघ संरक्षण, निकुञ्ज वरिपरिका बासिन्दाको सुरक्षा लगायतमा बढी ध्यान दिइएको जनाउँदै अब पर्यटक आकर्षित गर्न विशेष ध्यान दिइने बताए ।
निकुञ्जका अनुसार बाघको सङ्ख्या बढेपछि बासस्थान र आहारा प्रजाति व्यवस्थापनलाई पनि विशेष जोड दिइरहेको छ । विश्वमै लोपोन्मुख अवस्थामा रहेको पाटेबाघ र आहारा प्रजाति संरक्षणका लागि विभिन्न काम गरिरहेको निकुञ्जले जनाएको छ । सन् २०२० मा निकुञ्जले आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तयारी गरिरहँदा कोरोना महामारीले सबै योजना प्रभावित बन्न पुगेको थियो ।
पाटेबाघको सङ्ख्या बढेसँगै संरक्षणमा पनि विभिन्न चुनौती थपिएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार बाघको सङ्ख्या बढे पनि बासस्थान क्षेत्र विस्तार गर्न कठिनाइ हुनु, चोरी सिकार पूर्ण रूपमा नियन्त्रण नहुनु, मानव र बाघबिच द्वन्द्व हुनु, निकुञ्ज क्षेत्रमा विकासका पूर्वाधार निर्माण गरिनु संरक्षणका चुनौती हुन् ।
सत्यपाटी संवाददाता । बाँके