सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा फैलियो ‘कन्जक्टिभाइटिस एनिडो भाइरस

 बाँकेमा पछिल्लो समयमा आँखा पाक्ने रोगका धेरै बिरामी अस्पताल आउन थालेको आँखा अस्पतालले जनाएका छन् ।

चिकित्सकहरुका अनुसार आँखासम्बन्धी समस्या गराउने ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण बाँकेमा फैलिएकोले आँखा पाकेर उपचारका लागि अस्पताल आउने बिरामी दिनदिनै बढ्दै गएका हुन् ।

भिजन आँखा अस्पताल नेपालगञ्जका नेत्र रोग विशेषज्ञ डा. प्रचण्ड गौतमले पछिल्लो समय आँखा पाकेर वा अन्य समस्या भएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या एक्कासि बढेको बताउनुभयो ।

उहाँले कन्जक्टिभाइटिस भाइरसका कारण आँखा पाक्ने समस्या भएर बिरामी परेका ५० भन्दा बढी बिरामी दैनिक आफ्नो अस्पतालमा मात्र आउने गरेको बताउनुभयो । जिल्लामा आँखा अस्पताल र उपचार केन्द्रहरु दर्जन जति सञ्चालनमा छन् ।

नेत्ररोग विशेषज्ञ डा. गौतमले थप्नुभयो, “अहिले अधिकांश बालबालिकामा आँखा रातो हुुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने र कसैकसैलाई चिप्रा आउने जस्ता समस्या देखिएका छन् ।”

अहिले आँखा अस्पताल पुग्नेमध्ये अधिकांश बिरामी कन्जक्टिभाइटिस भाइरससँग सम्बन्धित समस्या लिएर पुग्नेहरु नै हुने गरेको विभिन्न अस्पतालले जनाएको छ ।

फत्तेबाल आँखा अस्पताल नेपालगञ्जका चिकित्सक डा. उमेर सादिकले पनि अहिले कन्जक्टिभाइटिस भाइरसबाट पीडित भएर अस्पताल पुग्नेहरु बढ्दै गएको बताउनुभयो ।

चिकित्सकहरुले कन्जक्टिभाइटिस भाइरस तीव्र गतिमा फैलिने सङ्क्रामक भाइरस भएको बताएका छन् । उनीहरुले यो भाइरस एकदेखि डेढ हप्तासम्म आफैं निको हुने भए पनि कुनै व्यक्तिमा समस्याका रुपमा देखिन सक्ने भएकाले सचेत रहन सबैसँग आग्रह गरेका छन् ।

यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले रोगीको सम्पर्कबाट टाढा नै बस्नु बेस हुने चिकित्सकहरुको सुझाव छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतवार १६:२२