सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कुस्ती टोली नेपालगन्जमा

चीनको हाङझाउमा आयोजना गरिने १९ औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली राष्ट्रिय कुस्ती टोली नेपालगन्ज पुगेर प्रशिक्षण गरिरहेको छ। दुई महिने प्रशिक्षणका लागि भारतको उत्तरप्रदेश जाने क्रममा नेपालगन्ज पुगेको कुस्ती टोलीले एक सातादेखि यहाँ प्रशिक्षण गरिरहेको छ।

नेपाली कुस्ती टोलीका प्रमुख प्रशिक्षक मुमताज अलि इद्रिसीले भारतको उत्तर प्रदेश र नेपालगन्जको मौसम एउटै हुने भएकोले काठमाडौँबाट आएको सो टोलीलाई गर्मीको मौसममा अभ्यस्त पार्न नेपालगन्जमा केही दिन प्रशिक्षण गराइरहेको बताउनुभयो।

नेपालगन्जको मौसममा अभ्यस्त भइसकेपछि भारतमा प्रशिक्षणमा सहभागी हुन सहज हुने बताउनुभयो। नेपालगन्जमा रहेको कुस्ती टोलीमा एक जना प्रमुख प्रशिक्षकसहित चार जना खेलाडी रहनुभएको छ। भारत जान लागेका चारै खेलाडी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुनुहुन्छ।

प्रशिक्षक इद्रिसीका अनुसार पुरुष खेलाडीमा सुरेश चुनारा (७४ केजी) र राज यादव (१२५ केजी) तथा महिलामा शिभांगी दुबे (५७ केजी) र सुशीला चन्द (६२ केजी) रहनु भएको छ। १३ औँ सागमा शिभांगी र सुशीलाले रजत तथा सुरेश र राजले कांस्य पदक जित्नु भएको थियो। उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म हुने बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडी निकै उत्साहित देखिनु भएको छ।

प्रशिक्षक इद्रिसीले महिला खेलाडीबाट आफूले धेरै आशा गरेको बताउनुभयो। बाँके निवासी महिला खेलाडी सुशीला चन्दले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि भारतमा हुने प्रशिक्षणमा जान पाउँदा निकै उत्साह बढेको बताउनुभयो।  उहाँले १९ औँ एसियाली खेलकुदमा आफूलगायत सबै खेलाडीले राम्रो प्रदर्शन गर्ने मुख्य उद्देश्यका साथ तयारी गरिरहेको बताउनुभयो।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतवार १६:१८