भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर महँगी बढेको छ । महँगीलाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले भारतसँग वार्ता गर्ने भएको छ । भारतले केही सीमित प्रकारका चामलमा लगाएको प्रतिबन्ध हटाउन वार्ता गर्ने आइएमएफको भनाइ छ ।
भारत सरकारले यही जुलाई २० तारिखमा चाडपर्वको सिजनलाई मध्येनजर गर्दै बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । देशमा बढ्दो चामलको मूल्य रोक्न र घरेलु आपूर्ति बढाउन सरकारले यस्तो निर्णय गरेको थियो । भारतको खाद्य मन्त्रालयले गैरबासमती उसिना चामल र बासमती चामल निर्यात नीतिमा कुनै परिवर्तन नहुने बताएको छ ।
भारतबाट निर्यात हुने कुल चामलमा गैरबासमती र सेतो चामलको हिस्सा करिब २५ प्रतिशत छ । आइएमएफका प्रमुख अर्थशास्त्री पियरे ओलिभियर गौरिन्चसले भारतले अहिले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वभरि नै खाद्यान्नको मूल्यमा अस्थिरता पैदा हुन सक्ने बताएका छन् । प्रतिबन्धको एक हप्तामै विश्वभर चामलको कमी हुन थालेको छ ।
अमेरिकामा बस्दै आएका कपितय भारतीय चामल किन्न लामो लाइनमा बस्नुपर्ने बाध्यतासमेत देखिएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयका महानिर्देशक सन्तोषकुमार सारंगीले केही सर्तसहित चामल निर्यातलाई अनुमति दिन सकिने बताएका छन् ।
भारत ठूलो निर्यातक
भारत चामल निर्यातमा विश्वकै ठूलो निर्यातक हो । गत वर्ष सेप्टेम्बरमा सरकारले टुक्रा चामल (कनिका) निर्यातमा प्रतिबन्ध लगाएको थियो भने अन्य केही चामल निर्यातमा २० प्रतिशत भन्सार लगाएको थियो ।
भारतले आर्थिक वर्ष २०१९–०२० मा १.२५ करोड मेट्रिक टन, २०२०–०२१ मा २.०२ करोड मेट्रिक टन, २०२१–०२२ मा २.२ करोड मेट्रिक टन र २०२२–०२३ मा २.२५ करोड मेट्रिक टन चामल निर्यात गरेको थियो । यस्तै चालू आवमा २.३ करोड मेट्रिक टन पुग्ने अनुमान सरकारले गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं