सूचनाको शक्ति - The Power Of Information

        

ग्लोबल वार्मिंग

जलवायु परिवर्तन : विश्वका तीन अर्ब मानिसका लागि खतराको घण्टी

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार पेरिस जलवायु सम्झौता कार्यान्वयनका लागि पहल भैरहे पनि विश्वको तापक्रम तीन डिग्री सेल्सियसको वृद्धितर्फ बढिरहेको छ ।

नयाँ अध्ययन अनुसार सन् २०७० सम्ममा तीन अर्बभन्दा बढी मानिस तापक्रम ‘असहनीय’ हुने ठाउँमा बस्नेछन् । हरितगृह ग्यासहरूको उत्सर्जन कम नभएसम्म ठूलो संख्यामा मानिसहरूले औसत तापक्रम २९ डिग्री सेल्सियस नाघेको महसुस गर्नेछन् ।

यो वातावरणीय अवस्था ‘कम्फर्ट जोन’भन्दा बाहिरको हुनेछ, जहाँ मानिस विगत ६ हजार वर्षदेखि फस्टाउँदै आएका छन् । यो अध्ययनका सह–लेखक टिम लेन्टनले भनेका छन्, यो अनुसन्धानले जलवायु परिवर्तनलाई मानवीय सन्दर्भमा हेरेको छ । आफ्नो अध्ययनका लागि शोधकर्ताहरूले संयुक्त राष्ट्र संघको जनसंख्या र विश्वव्यापी तापमान वृद्धिसँग सम्बन्धित तथ्यांक प्रयोग गरेका छन् ।

ग्लोबल वार्मिंगको कारण

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार पेरिस जलवायु सम्झौता कार्यान्वयनका लागि पहल भैरहे पनि विश्वको तापक्रम तीन डिग्री सेल्सियसको वृद्धितर्फ बढिरहेको छ । अध्ययन अनुसार मानव जनसंख्या साना जलवायु क्षेत्रमा सघन रूपमा बसोबास गरिरहेको छ । अधिकांश मानिसहरू औसत तापक्रम ११ देखि १५ डिग्रीको बीचमा भएको ठाउँमा छन् ।

जनसंख्याको एउटा सानो भाग औसत तापमान २० देखि २५ डिग्री सेल्सियस बीचमा भएको क्षेत्रमा बसोबास गरिरहेको छ । मानिसहरू हजारौं वर्षदेखि यहि मौसममा बस्दै आएका छन् । यद्यपि ग्लोबल वार्मिङका कारण विश्वको औसत तापक्रम तीन डिग्रीले बढ्यो भने ठूलो जनसङ्ख्या ‘जलवायु सुविधा’भन्दा बाहिर हुने गरी गर्मीमा बाँच्न बाध्य हुनेछ । एक्सेटर विश्वविद्यालयको ग्लोबल सिस्टम्स इन्स्टिच्युटका निर्देशक टिम लेन्टनले गरेको यो अध्ययनमा चीन, अमेरिका र युरोपका वैज्ञानिकहरूले भाग लिएका थिए ।

सघन जनसंख्या भएका ताता ठाउँहरू

टिम लेन्टन भन्छन्, समुद्रको तुलनामा जमिन धेरै चाँडो तातो हुन्छ । त्यसैले जमिनको तापक्रम तीन डिग्री बढी हुनेछ । पहिले नै तातो ठाउँहरूमा जनसङ्ख्या बढ्ने सम्भावना पनि छ । यसमा सहारा मरुभूमिको दक्षिणमा पर्ने अफ्रिका महादेशका अधिकांश क्षेत्रहरू हुनेछन् । अहिले ताता ठाउँहरूमा बढि सघन जनसंख्या छ र ती हट स्पटहरू थप तातो हुँदै गएका छन् । त्यसैले हामी सात डिग्री तातो भन्दा तीन डिग्री तातो भएको संसारमा बस्ने मानिस बढिभएको देख्छौं ।

यो परिवर्तनबाट प्रभावित हुने क्षेत्रहरूमा अष्ट्रेलिया, भारत, अफ्रिका, दक्षिण अमेरिका तथा मध्य पूर्वका भागहरू पर्छन्। गरिब क्षेत्रमा बसोबास गर्ने मानिसहरूले अत्यधिक गर्मीबाट आफूलाई जोगाउन नसक्ने कुरामा पनि अध्ययनले चिन्ता व्यक्त गरेको छ । टिम लेन्टन भन्छन्, यो अध्ययन वातानुकूलित भवनहरूमा आफूलाई कुनै पनि कुराबाट जोगाउने धनीहरूमा केन्द्रीत छैन । हामीले उनीहरूको चिन्ता गर्नुपर्छ जोसँग जलवायु परिवर्तन र मौसमबाट आफूलाई जोगाउने स्रोतहरू छैनन् ।

यो अनुसन्धानको मुख्य सन्देशका सन्दर्भमा टिम भन्छन्, यदि जलवायु परिवर्तनलाई नियन्त्रण गर्न सकिन्छ भने त्यसबाट ठूलो फाइदा हुनेछ । यसले वातावरणको कम्फर्ट जोन बाहिर बस्ने मानिसहरूको संख्या घटाउनेछ । आज तापक्रममा एक डिग्रीको बृद्धिले पनि करिब एक अर्ब मानिसलाई असर गर्छ । त्यसैले तापक्रममा हुने हरेक डिग्रीको बृद्धि रोकेर हामीले मानिसको जीविकोपार्जनमा हुने परिवर्तन र त्यसको अन्य नकारात्मक प्रभाव कम गर्न सक्छौं ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार १६:१८