सूचनाको शक्ति - The Power Of Information

        

मुस्लिम समुदायमा उल्लास

मोहरम : हुसेनको त्याग र बलिदानको सम्झना

मोहरमको दशौं दिन अर्थात आशूराका दिन ताजियादारी गरिन्छ । इराकमा इमाम हुसेनको दरगाह छ । त्यसको हुबहु नक्कल गरेर ताजिया बनाइन्छ ।

इस्लामिक क्यालेन्डर अनुसार मोहरम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’ का साथै ‘गम र मातम’ को महिना पनि भनिन्छ । प्रत्येक वर्ष जस्तै यसवर्ष पनि यो महिना पैगम्बर मुहम्मदको नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा धुमधामका साथ मनाइँदैछ । सन् २०२३ मा मोहरम २० जुलाईबाट शुरु भएको छ, त्यसैले यो वर्ष २९ जुलाई अर्थात आज मुहर्रम मनाइँदैछ ।

इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्व र इतिहास बोकेको छ । यही महिनामा हजरत इमामहुसेनले कर्बलाको लडाइमा सहादत प्राप्त गरेका थिए । मुहर्रम महिनाको पहिलो दस दिन इमाम हुसेनको शोकको रुपमा मनाइन्छ । यसलाई आशूरा पनि भनिन्छ । हजरत इमामहुसेन आफ्ना ७२ साथी सहित मोहरम महिनाको दसौं दिन कर्कलाको मैदानमा सहिद भएकोले उनको सहादत र बलिदानका लागि यो दिनलाई विशेष रुपमा सम्झिने गरिएको छ ।

‘हजरत इमामहुसेन न्याय, धर्म र अधिकारका लागि तत्कालीन इराकका बादशाह याजिद विरूद्धको लडाइमा उहाँको सेनाबाट परिवारका सदस्य र अन्य साथी सहित कर्बलाको मैदानमा सहिद हुनुभएको थियो । उहाँ समानता, न्याय, र दयाका लागि लड्ने गर्नुहुन्थ्यो,’ अब्दुल्ला अलिगलले बताए । तत्कालीन सलतनत त्यहाँका नागरिकले अत्यधिक अन्याय भोग्नुपरेको उनले सुनाए । अब्दुल्ला अलिगलका अनुसार, विशेषगरी त्यस्तै परम्परागत अधिकारको तत्कालीन राजनीतिक तथा धार्मिक वातावरणले त्यहाँका नागरिकहरूलाई भयमुक्त हुन र आत्मनिर्भरता प्रदान गर्न असमर्थ बनाएको थियो ।

हजरत इमाम हुसेन

हजरत इमाम हुसेन पैगम्बर ए इस्लाम हजरत मुहम्मद साहबका नाति थिए । इमाम हुसेनका वालिद अर्थात पिताको नाम हजरत ‘शेरेखुदा’ अली थियो । उनी पैगम्बर साहबको ज्वाइँ थिए । त्यसैगरी इमाम हुसेनको आमाको नाम बीबी फातिमा थियो । हजरत अली धार्मिक तथा सामाजिक मुखिया थिए । उनलाई चौथो खलिफा बनाइएको थियो । हजरत अलीको शहादतपछि मानिसहरू इमाम हसन (हुसेनका दाजु)लाई खलिफा बनाउने पक्षमा थिए ।

तर विद्रोह गरेर हजरत अमिर मुआविया खलिफा भए । ‘सन् ६० हिजरीमा तत्कालिन शासक याजिद इस्लाम धर्मको सम्राट बन्न चाहनुभयो । उहाँ सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहनुहुन्थ्यो । त्यसैले इंसानियत बचाउन याजिदको बिरोधका इमामहुसेनले कर्बलाको लडाइमा सहिद हुनुभयो’, मदरसा ब्यवस्थापन समिती लुम्बिनी प्रदेश उपाध्यक्ष मौलाना मशूद नेपालीले बताए ।

कसरी मनाइन्छ मोहरम ?

मोहरमको दशौं दिन अर्थात आशूराका दिन ताजियादारी गरिन्छ । इराकमा इमाम हुसेनको दरगाह छ । त्यसको हुबहु नक्कल गरेर ताजिया बनाइन्छ । शिया उलेमाका अनुसार, मोहरमको चाँद निस्किने पहिलो तारिखमा ताजिया राखिन्छ । यो दिन इमाम हुसेनको सहादतको सम्झनामा ताजिया सहित जुलुस निकालिन्छ । ताजिया निकाल्ने परम्परा सिया समुदायमा मात्र छ ।

तर उत्तरी भारत र नेपालको अधिकांश ठाउँमा हिन्दुहरूले पनि ताजियासहित जुलुस निकाल्ने गरेका छन् । यो वर्ष नेपाल र भारतमा मोहरमको सुरुआत २० जुलाईबाट भएको छ । त्यसैले भारतमा आशूरा २९ अगस्टमा मनाइँदैछ । पाकिस्तान र बंगलादेशमा पनि आशूरा २९ अगस्ट २०२३ मै मनाइँदैछ । जबकि सउदी अरब, ओमान, कतर, इराक, बहरिन, संयुक्त अरब अमिरात समेत अन्य अरब देशमा मुहर्रम १९ जुलाईबाट प्रारम्भ भएकोले मातमको दिन २८ जुलाइ मै मनाइएको छ ।

‘हुसेनको त्याग र बलिदानले अन्तर्राष्ट्रिय स्तरमा पनि विश्वसनीयता प्राप्त गरेको छ । यसले अधिकारको मुद्दालाई समाजवादी परिवर्तनमा सहायक बन्ने प्रेरणा पनि प्रदान गरेको छ,’ मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष मौलाना मसुद नेपालीले भने, ‘यस शोकपूर्ण अध्यायमा हजरत इमाम हुसेनलाई एक दृढ व्यक्तित्व र न्यायप्रेमी स्वभावका कारणले एक धार्मिक नायकको रूपमा चिनिएको छ ।’

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार १६:१४