सूचनाको शक्ति - The Power Of Information

        

सुर्नया नदीमा पुल नहुँदा स्थानीयलाई सास्ती

डडेल्धुरा र बैतडीको सिमानामा पर्ने सुर्नया नदीमा पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । खाल–देहिमाडौं–सर्माली–पन्चेश्वर सडक खण्डमा पर्ने यो क्षेत्रका स्थानीयबासीन्दा पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

वर्षौंदेखि गाडी चल्ने सुर्नया खोलामा मोटेरेवल पुल नहुँदा बैतडीका तिन पालिका र डडेल्धुराका दुई पालिकाका स्थानीयवासी जोखिमपूर्ण रुपमा यात्रा गर्न बाध्य भएका हुन् । वर्षायामको समयमा नदी तर्न ठूलो समस्या भइरहेको सो क्षेत्रका स्थानीयवासीले बताएका छन् ।

पुल निर्माणका लागि पटकपटक आग्रह गरे पनि हालसम्म पुल निर्माण नभएको स्थानीय रामबहादुर शाहीले बताए । डडेल्धुरा सदरमुकामबाट सबै भन्दा बढी गाडी यो क्षेत्रमा चल्ने गरेका छन् । काम विशेषले डडेल्धुरा सम्म पुग्न यही नदीबाट वारपार गर्नुपर्ने हुन्छ ।

वर्षातको समयमा नदीमा पानीको सतह बढ्ने हुन्छ र ज्यान नै जोखिममा राखेर ओहोर दोहोर गर्नुपर्ने बाध्यतामा कुनै तहका सरकारले ध्यान दिएका छैन । नदीमा पुल नहुँदा वर्षायामका बेला गाउँका बिरामीलाई अस्पतालसम्म लैजान कठिनाइ हुने गरेकोे स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार १२:३५