सूचनाको शक्ति - The Power Of Information

        

सुन लुट्ने पाँच प्रहरी निलम्बनमा

भारतस्थित मध्यप्रदेशको अलिराजपुर जिल्लामा एक आदिवासी परिवारबाट प्रहरीले २४० सुनको सिक्का लुटेको छ । यी सिक्काको मूल्य डेढ करोडभन्दा बढी रहेको अनुमान गरिएको छ ।

सो लुटपाटपछि उनीहरु प्रहरी चौकी फर्केर अवैध रूपमा मदिरा बिक्री गर्नेलाई पक्रन गएको तर कोही पनि नभेटिएको प्रतिवेदन बनाएका थिए । यस घटनाको खुलासा भएपछि हाल फरार रहेका पाँच प्रहरीलाई निलम्बन गरिएको छ ।

समाचार अनुसार उत्खननका क्रममा आदिवासीहरूले सुनका सिक्का फेला पारेका थिए । जसलाई पछि आफ्नो घरको जमीनमा लुकाएर राखेका थिए । प्रहरीले यस बारेमा आफ्नो गुप्तचारबाट जानकारी लिएको थियो ।

गुप्तचरबाट जानकारी प्राप्त भए लगत्तै प्रहरी गत जुलाई १९ तारिख त्यहाँ पुगेर आदिबासीको घरबाट सबै सिक्का लिएर फरार भएका थिए । जबकि नियमअनुसार ती सिक्का सरकारी कोषमा जम्मा गर्नुपर्ने थियो । तर प्रहरीले सरकारी कोषमा जम्मा गरेनन् ।

सरकारी कोषमा जम्मा नगरेको तथा आदिबासी समूहलाई क्षतिपूर्तिसमेत नदिएको समाचार बाहिरिएपछि ती पाँच अभियुक्तलाई निलम्बन गरी अनुसन्धान शुरु गरिएको भारतीय मिडियाले जनाएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार ०९:००