सूचनाको शक्ति - The Power Of Information

        

जीवन संघर्ष

क्याम्पस हाँक्दै ‘मुना’, शैक्षिक गुणस्तर सुधार प्राथमिकतामा 

क्याम्पस प्रमुख मुना हमाल भन्छिन्, ‘घर परिवार, साथीभाई, प्राध्यापक तथा कर्मचारी सबैको सहयोगले असहजताभित्र आफ्नो कर्तव्य र जिम्मेवारीमा सहजता खोज्दै अघि बढिरहेकी छु ।’

क्याम्पस प्राङ्गण हराभरा छ, क्याम्पस वरिपरि घाँस उम्रिएको छ । चिरिच्याट्ट परेको क्याम्पस परिसर । पढ्ने विद्यार्थी र पढाउने प्राध्यापक सबै व्यस्त । ड्रेससहित चिरिच्याट्ट परेका विद्यार्थी । यो दृष्य बाँकेको नेपालगन्जस्थित कलेज अफ म्यानेजमेन्टको हो । व्यवस्थापन संकायतर्फ बिबिएस अध्ययन गराइन्छ । जहाँ प्रध्यापकको पढाउने र सिकाउने तरिकै बेग्लै छ ।

क्याम्पसको व्यवस्थापकीय चुनौती जटिल छ । क्याम्पस प्रमुख महिला भएकै कारणले क्याम्पसको वातावरण मातृत्वमैत्री छ । विद्यार्थीकी ‘गुरूआमा’ मुना हमालले प्रमुख भएर क्याम्पस हाँकेकी छन् । क्याम्पसमा विद्यार्थीको अनुशासन र शिक्षण सिकाईमा ‘मिहिन’ ढंगले अघि बढ्ने मुनाको शैलीले क्याम्पसमा धेरै सुधार आएको छ ।

महिला नेतृत्व सक्षम हुन्छन् भन्ने महसुस उनी गर्छिन् । क्याम्पस प्रमुख मुना भन्छिन्, ‘क्याम्पसलाई सुविधा सम्पन्न बनाउने मन छ ।’ क्याम्पस आफैं गरिब हुँदाहुँदै उनी हिम्मत र अठोटका साथ क्याम्पस प्रमुखको जिम्मेवारी लिँदै सुधारमा लागिरहेकी छन् । २०६४ सालतिर शिक्षण पेसा जोडिएकी मुनाले जीवनमा थुप्रै संषर्षहरु झेल्नुपर्यो ।

२०४४ चैत १७ गते सल्यान जिल्लाको दार्माकोट १ मा मध्यम वर्गीय किसान परिवारमा बुवा टिकाराम उपाध्याय र आमा शारदा चन्द उपाध्यायको कोखबाट जन्मिएकी मुनाको उनको बाल्यकाल खासै सुखसयल थिएन । सल्यानकै दार्माकोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयबाट शिक्षा आरम्भ गरेकी मुना कक्षा ३ पढ्दै गर्दा बर्दिया पुगिन् ।

उनी आफ्नी ठुली आमाको घरमा बसेर पढ्न थालिन् । बाल्यकालमै आमाबुवाको काख छोडेर टाढा बस्दा निकै नरमाइलो महसुस हुन्थ्यो । उनी केही समय बर्दियामै पढेर फेरि सल्यान फर्किइन् । सल्यानकै श्री जनज्योती माध्यमिक विद्यालय भल्चौर फारुलाबाट २०६० सालमा एसएलसी उत्तीर्ण गरेसँगै उच्च शिक्षा अध्ययन गर्न सल्यान जिल्लाको सदरमुकामस्थित श्री शिव जनउच्च माध्यमिक विद्यालय शितलपाटीबाट आईएडको पढाई सकिन् ।

आईएड सकियो । त्यसपछि उनी उच्च शिक्षाको खोजीमा शहर पस्ने भइन् । २०६४ सालमा उनको परिवार बसाई सरेर बाँकेको राप्तीसोनारी गाउँपलिका–९ स्थित ढकेरी आइपुग्यो । परिवार नै बसाई सरेर बाँकेमा आएपछि उनलाई परिवारसँगै बसेर पढ्ने अवसर जुट्यो । त्यतिबेला घरका पाँच दाजुबहिनीमध्ये दुई जना दिदीको बिहे भइसकेको थियो । मुनाका दाईले काठमाडौंमा पढाई सकेर भर्खरै नोकरी सुरुवात गरिसकेका थिए ।

मुना र उनकी बहिनीलाई पढाउनुपर्ने जिम्मेवारी अझै आमाबुवाकै काँधमा थियो । एक जनाको कमाई दुई बहिनीलाई पढाउन बुवालाई धौ–धौ परिरहेको थियो । तर, आमाबुवाले सकेसम्म छोरीहरुसँग दुख देखाउन चाहेनन् । तर मुना ती सबैकुरामा जानकार थिइन् । अनि उनलाई लाग्यो, ‘अब मैले मेरो लागि मात्र भए नि केही गर्नुपर्छ ।’

सानै उमेरमा सामाजिक काममा रुची राख्ने मुना विस्तारै सामाजिक कार्यमा अग्रसर हुन थालिन् । परिवार र समाजको सहयोग र सद्भावकै कारण उनलाई सामाजिक कार्यमा जोडिन थप हौसला मिल्यो । उनी विस्थारै गाउँमा हुने सामाजिक कार्यमा सक्रिय हुन थालिन् । यही क्रममा उनी झिझरी सामुदायिक वन उपभोक्ता समितिको कोषाध्यक्ष बनिन् ।

सामुदायिक वन उपभोक्ता समितिमा तीन बर्ष काम गर्दा राम्रै अनुभव बटुलिन् । समितिमा काम गर्दा पैसा त कमाइनन्, समाजसेवीका रुपमा उदाइन् मुना । तीन बर्षपछि उनी आफ्नो आर्थिक अवस्था उकास्नुपर्छ र अब जागिर खानुपर्छ भन्ने सोच राखेर कोहलपुर र नेपालगन्जमा जागिर चाहार्दै हिँड्न थालिन् । तर, उनले भनेजस्तो काम भने पाउन सकिनन् ।

सल्यानबाट शहर झरेकी उनलाई यहाँको शहरिया परिवेशमा भुल्न केही गारो अनुभव भयो । त्यही क्रममा एक जना दिदीको सहयोगमा काम पाएको बताउँछिन् मुना । उनले भनिन्, ‘काम त पाइयो, तर मलाई कम्प्युटर सम्बन्धी ज्ञान थिएन । साइकल पनि चलाउन जान्दिनथे । सीप नभएपछि त्यो काम नि गर्न सकिँदैन भन्ने सोचेर फेरि घर फर्किए ।’

घर फर्किएपछि साइकल किनेर करिब ४५ मिनेटको जङ्गलको बाटोमा साइकल चलाएर कम्प्युटर सिक्न कोहलपुर पुगेको उनको स्मरण छ । कम्प्युटर सिकेपछि त्यहीको यौटा छापाखानामा टाइपिङ गर्ने काम पाइन् । मुना भन्छिन्, ‘अनि त्यहाँ विभिन्न विद्यालयका प्रश्नपत्र आउँथे । त्यही क्रममा सेन्चुरी अङ्ग्रेजी मिडियम स्कुलमा शिक्षक चाहिएको विज्ञापन देखे । अनि स्कुलमा शिक्षकका लागि परीक्षा दिए पास पनि भए, त्यसपछि सुरु भयो मेरो शिक्षण पेशा, मेरो गर्व र रोजाईको पेशा ।’

कक्षा ९ म पढ्दै गर्दा साना नानीबाबुलाई पढाएको स्मरण गर्दै उनले भनिन्, ‘महिनाको ३० रुपैयाँ लिएर ट्युसन पढाएको कुरा सम्झदा मलाई सानैदेखि शिक्षण पेसाप्रति आकर्षक थियो ।’ मुनाले शिक्षण पेशासँगै कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा स्नातक अध्ययन गर्न गर्न थालिन् । बिहान क्याम्पस दिउँसो स्कुल पढाउने दैनिकी चलिरह्यो ।

दिनहरु अगाडि बढ्दै गए, स्नातक तहको पढाई सकियो । यो बिचमा उनी सेन्चुरी स्कुल छोडेर दिप ज्योती माध्यमिक विद्यालय कोहलपुरमा पढाउन थालिन् । स्नातक सकिएसँगै २०६७ सालमा बिवाह बन्धनमा बाधिएकी उनीमाथि थप जिम्मेवारी थपियो । कोहलपुरबाट नेपालगन्ज बसाइ सरेसँगै थप कठिन यात्राहरु सुरु भएको मुना बताउँछिन् ।

नेपालगन्ज आएपछि होलिल्याण्ड माध्यमिक विद्यालयमा माध्यामिक तहको नेपाली विषय शिक्षकको रुपमा अध्यापन गराउन थालिन् । तर उनलाई लाग्यो, ‘आफ्नो पढाईलाई यत्तिमै रोक्नुहुँदैन ।’ उनी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्नातकोत्तर अध्ययन गर्न थालिन् । यहि बीचमा उनले आफ्नो पहिलो सन्तानका छोरीलाई जन्म दिइन् ।

बिवाह, बच्चा, पढाई, जागीर सबै कुरालाई ब्यवस्थापन गर्न उनलाई सारै कठिन भयो । थप संघर्षका दिनका दिनहरु सुरु भए । मुना भन्छिन्, ‘कति रात नसुतेर बिते । दुई महिनाकी छोरीलाई घर छोडेर पढाउन जान्थे । छोरी रुँदा आँखाभरी आँसु लिएर स्कुल जान्थे । यस्तो अवस्थामा पनि मैले जागीर छोडिन, सायद त्यो मेरो शिक्षण पेसाप्रतिको लगाव थियो ।’

यसरी नै दुखसुख गर्दै मुनाको स्नातकोत्तरको पढाई सकियो । जिभिएन कलेज र होलिल्याण्ड कलेजमा कक्षा ११ र १२ मा पढाउन थालेपछि उनलाई केही सहज भयो । विस्तारै उनमा आफै स्कुल कलेज खोल्ने सोंच आउन थाल्यो । सोही अनुसार उनले स्कुल कलेजमा लगानी गर्न थालिन् । कोरियनपुरस्थित जेएस स्कुल सञ्चालनमा आयो ।

हाल जेएस स्कुल ब्यवस्थापन समितिको अध्यक्ष भएर विद्यालयको ब्यवस्थापन सम्हालिरहेकी छन् । होलिल्याण्ड, जिभिएन, जगतज्योती, जेएस माध्यमिक विद्यालयका साथै विभिन्न संघसंस्थामा काम गर्ने अवसर पाएर आफ्नो कर्मक्षेत्रमा आफ्ना सिकाइका पाइला अगाडी बढाउँदै मुनाले हाल कलेज अफ म्यानेजमेन्टको क्याम्पस प्रमुखको जिम्मेवारी पाएकी छन् ।

‘सुरुका दिनमा जुन शहरमा काम खोज्दै हिँड्दा काम नपाएर निरास हुन्थे, आज त्यही शहरमा क्याम्पसको प्रमुख भएर काम गर्ने अवसर पाउदा आफुलाई गर्वको अनुभूति हुन्छ,’ मुनाले भनिन् । उनले एकता महिला विकास केन्द्रको सचिवको रुपमा ६ बर्षदेखि काम गरिरहेकी छन् भने ७ बर्षदेखि नेपाल लाइफ इन्स्योरेन्सको एजेन्सी म्यानेजरको रुपमा काम गरिरहेकी छन् ।

क्याम्पस प्रमूखका रुपमा जिम्मेवारी लिँदै गर्दा आएका चुनौतिहरुलाई ‘फेस’ गर्दै अघि बढिरहेको उनले बताइन् । मुना भन्छिन्, ‘कलेजको शैक्षिक, सामाजिक, आर्थिक गतिविधिलाई गुणस्तरीय बनाउनु मेरो प्रमुख उद्देश्य हो । हाम्रो कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई पढ्ने मात्र हैन, आफ्नो जीवनलाई कसरी ब्यवस्थापन गर्ने भन्ने कुरा पनि सिकाउँदै आएका छौं ।’

अहिलेको परिबेशमा कक्षा १२ को पढाईपछि थुप्रै विद्यार्थीको आकर्षण भनेको बैदेशिक यात्रा रहेको पाइन्छ । यस्तो परिबेशमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी पाउनु मुख्य चुनौतिका रुपमा रहेको कलेज अफ म्यानेजमेन्टका क्याम्पस प्रमूख मुनाको बुझाई छ । यद्यपी यो समग्र देशकै चिन्ता, चासो र चुनौतिको विषय बनेको छ ।

क्याम्पस प्रमूखको जिम्मेवारी सम्हालेसँगै उनी क्याम्पसको चौतर्फी विकासका लागि लागिपरेकी छन् । मुना भन्छिन्, ‘अहिलेको जस्तो अवस्था थिएन । अहिले त धेरै सुविधा छ । नयाँ–नयाँ प्रविधिको विकासले पढाईमा सहज ल्याइएको छ । यसले क्याम्पसहरु पनि सुविधा सम्पन्न र प्रविधिमैत्री बन्नुपर्छ भन्नेमा हामी गम्भीर भएर लागिपरेका छौं ।’

‘मेरो लागि घर, परिवार, बालबच्चाको जिम्मेवारीलाई यथावत राखेर पदीय जिम्मेवारी निभाउन सजिलो त पक्कै छैन । तर सबैखाले चुनौतिहरुको सामना गर्दै आफुले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरिरहेकै छु,’ क्याम्पस प्रमुख मुनाले भनिन् । क्याम्पसमा स–साना कुरालाई सुधार्न सकेसम्म आफैं अघि सर्छिन् मुना ।

‘म क्याम्पस प्रमुख भएर आएपछि क्याम्पसको शैक्षिक र भौतिक सुधारमा व्यस्त हुने गरेकी छु,’ क्याम्पस प्रमुख मुना भन्छिन् । क्याम्पस प्रमुख मुनाले क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर लागिपर्ने बताउँदै पदीय दायित्व र जिम्मेवारी वहन गर्दा र व्यवहारिक भूमिका निभाउँदा निकै फरक हुने अनुभव सुनाइन् ।

महिला भएकै कारण आफ्नो जिम्मेवारी बहन गर्दा महिला त हो के नै गर्ला र भन्नेजस्ता अपमानपूर्ण व्यवहार धेरै महिलाले झेलेको पनि उनले स्मरण गरिन् । क्याम्पस प्रमुख मुनाले भनिन्, ‘घर परिवार, साथीभाई, प्राध्यापक तथा कर्मचारी सबैको सहयोगले असहजताभित्र आफ्नो कर्तव्य र जिम्मेवारीमा सहजता खोज्दै अघि बढिरहेकी छु ।’

महिलालाई जहाँतहीँ नेतृत्व गर्न सजिलो नभएको उनको अनुभव छ । शिक्षा क्षेत्रमा अझै जटिल छ । महिलालाई शैक्षिक क्षेत्रको नेतृत्वमा आउँदा अझै पनि निकै चुनौति रहेको उनको बुझाई छ । महिलाको क्षमताको विकासको सन्दर्भलाई अहिले पनि छायाँमा पारिन्छ । जिम्मेवारी पाएपछि महिलाले पनि हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने क्याम्पस प्रमुख मुनाको दावी छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १८:२६