सूचनाको शक्ति - The Power Of Information

        

बाँदर आतङ्क

बाँदर आतङ्कले तहसनहस बनेका गाउँ, समाज र जीवनहरू

हिजो गहुँ हुन्थ्यो, कोदो हुन्थ्यो, केरा, आँप र अम्बाहरू फल्थे, गाउँ हराभरा थियो । आज उजाड़ मरुभूमिजस्तो छ । गाउँ छोडेर मान्छे विस्थापित भएका छन् । दुःख र पसिनाले बनाएका घरमा झार उम्रेको छ ।

के तपाईंलाई पनि महाबीर पुनको आविष्कार केन्द्रले ‘बाँदर धपाउने’ बन्दूक बनाएको सुन्दा मन अलिक खल्लो भएको थियो ? छिमेकी भारत मङ्गलग्रह ताक्दैछ, हाम्रो आविष्कार भने यस्तो छ भन्ने लागेको थियो ? मलाई थियो । तर हिजो विद्या चापागाईंजीको ‘हेर्ने कथा’ आँखा र मन दुबैले पढि़यो ।

बीसौँ वर्षदेखि बाँदरले हदैसम्म सताएका बस्ती, बाँदर आतङ्ककै कारण तहसनहस बनेका गाउँ, समाज र जीवनहरू । अनि यसको रोकथाममा निरीह राज्य संयन्त्रको सानो चित्र थियो त्यहाँ, तर त्यसभित्रको घाउ भने निकै निकै ठूलो थियो । प्रत्यक्ष नबेहोर्नेहरूका लागि झट्ट सुन्दा बाँदरले सताउनु सामान्य जस्तो लाग्न सक्छ ।

तर गाउँबस्तीहरू कति पीडि़त छन् र स्थिति कति भयावह छ भन्ने बुझ्नुभयो भने आविष्कारलाई आफ्नै माटोको समस्यासँग जोड्ने महावीरहरूको प्रयासप्रति सम्मान जाग्नेछ । सोच्नुस्, तपाईं पहाड़ी गाउँको बासिन्दा हुनुहुन्छ । अलिकति बारी र खेतबाहेक अर्को जीविकाको स्रोत छैन । यातायात, अस्पताल, कलेज, बजार त छोड्नुहोस्, पानीको स्रोत पनि घण्टौँ टाढा छ ।

आकासे पानीको भरमा जे उब्जिन्छ, त्यही तपाईंको हातमुख जोर्ने साधन हो । पौष्टिक आहार, ब्यालेन्स्ड डाइट, भिटामिनदेखि चाडबाड़ र उपचार खर्च पनि त्यही हो । तर, त्यही बारीमा फल्ने एक दाना फलफूल, एक गेडा गहुँ या एक मुठी साग पनि तपाईंले भित्रÞ्याउन सक्नुभएन भने जीवन कति कष्टकर होला ? एकपटक होइन, बर्सैभरि, अझ बीसौं वर्षदेखि यही अवस्था रह्यो भने के होला ?

घण्टौँ टाढाबाट बोकेको पानी दिनदिनै कुनै शत्रुले घोप्ट्याइदियो, पकाएर बच्चालाई खुवाउन ठीक्क पारेको रोटी कसैले खोसेर लगिदियो, ऋण खोजेर किनेको चिनी, चामल र फलफूल पनि बट्टैसँग लुटेर लगिदियो र यो क्रम दिनदिनै दशौं वर्षसम्म चल्यो भने के होला ? तपाईं कसरी दैनिक गुजारा गर्नुहोला ? कसरी लालाबालालाई खुवाउनुहोला ? कुन पैसाले फाटेको कपड़ा फेर्नुहोला र बिरामी हुँदा कुन पैसाले उपचार होला ? तपाईंको जीवन कस्तो होला ?

धेरै पहाड़ी गाउँहरूको अवस्था यस्तै रहेछ । बाँदरकै आतङ्कले बारीमा एक त्यान्द्रो अन्न उब्जाउन सकिन्न, तरकारी फल्न पाउँदैन, बोटमा फलफूलको दाना अडिन्न, ढुङ्गाको छानो उधिनिदिन्छ, केटाकेटी स्कुल आउँदाजाँदा कापीकिताब खोसिदिन्छ, आक्रमण नै गर्ने डर पनि हुन्छ । झोलामा खाजा बोकेर हिँड्न सकिन्न, घर आउँदा पाकेको खानासमेत खान नपाएर भोकै सुत्नुपर्छ ।

हिजो गहुँ हुन्थ्यो, कोदो हुन्थ्यो, केरा, आँप र अम्बाहरू फल्थे, गाउँ हराभरा थियो । आज उजाड़ मरुभूमिजस्तो छ । एक दिन होइन, दुई दिन होइन, हरेक दिन यस्तो भएपछि कसरी बाँच्न सकिएला ? पहाड़का गाउँहरू यसरी निरीह बनेर, असहाय बनेर रित्तिँदै जाने हो भने, त्यहाँ उत्पादन शून्य बन्दै जाने हो भने देशको अवस्था के होला ? बाँदर नाच्ने जग्गा बिक्ने कुरो भएन, छोडेर जानेहरू कहाँ कसरी बाँचेका होलान् ?

गाउँ छोडेर मान्छे विस्थापित भएका छन् । दुःख र पसिनाले बनाएका घरमा झार उम्रेको छ । तर खासगरी दलित र अति विपन्नहरूसँग गाउँ छोडेर अन्त जाने साधन, उपाय र बाटो पनि छैन । जति गाउँ खाली हुन्छ, त्यति त्यहाँ बस्नेहरूको जीवन कष्टकर बन्दै जाँदो रहेछ । हामी तारे होटलमा बसेर खाद्य सुरक्षाको कुरा गर्छौं, पौष्टिक आहारको कुरा गर्छौं, गाउँमा एउटा निस्तो रोटीले छाक टार्नुपर्छ, त्यो पनि बाँदरसँग बचाएर ।

सिंहदरबारको राजनीति, हाम्रो चासो र चिन्तासँग गाउँका ती पीडि़तहरूको कुनै सम्बन्ध छैन । हामी रवि लामिछानेको नागरिकतामा छ महिना बिताउन सक्छौं, एक क्विन्टल सुनमा अर्को छ महिना बित्छ । संसद पनि यिनै मुद्दामा कहिले भाषण गर्छ, कहिले हड़ताल गर्छ । महाबीरहरू माटोबाट उठेका हुन्, माटोको समस्या, घाउ र चित्कार तिनले सुन्न सक्ने रहेछन् ।

दुनियाँले खिसिट्युरी गरे पनि तिनले त्यही घाउको उपचार कसरी हुन्छ भन्ने पहिले सोच्ने रहेछन् । मुटुभित्र नघोची यो कुरो बुझिन्न, महाबीरलाई बुझिन्न । अलिकति बुझाइदिनुभएकोमा विद्याजी प्रति ऋणी छु । त्यो छोटो हेर्ने कथाले मन निकै बिथोलेको छ । नयाँ–पुराना दल र शासकको मन पनि बिथोलिने हो भने केही उपाय निस्किन्थ्यो कि ? तपाईंले हेर्नुभयो ?

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १६:३२

सिफारिस