सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जबाट जडीबुटी निर्यात ६० प्रतिशतले घट्यो

नेपालगन्ज नाकाबाट तेस्रो मुलुकमा हुने जडीबुटीको निर्यात करिब ६० प्रतिशतले घटेको छ । नेपाल र भारत दुबैतर्फ हुने झन्झटिलो प्रक्रिया र विभिन्न कानुनी अड्चनका कारण जडीबुटी निर्यातमा झमेला हुने गरेको छ ।

जडीबुटी व्यवसायी सङ्घ केन्द्रीय कार्यालय नेपालगन्जको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८–०७९ मा तीन लाख ९३ हजार ७१४ किलोग्राम जडीबुटी भारततर्फ निकासी भएको थियो । तर गत आर्थिक वर्ष २०७९–०८० मा एकलाख ४० हजार ८७३ किलोग्राम जडीबुटी मात्रै भारततर्फ निकासी भएको छ ।

नेपालगन्जबाट मेञ्चा, बोझो तेल, नागबेली धुलो, धूपी तेल, कडिपत्ता तेल, सेतकचिनी, सुगन्ध कोकिला तेल, सुनपाती तेल, सिस्नुजरा, टिमुर तेल लगायतका जडिबुटी तेश्रो मुलुक निर्यात भएको सङ्घको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी अजय जायसवालले जानकारी दिए । निर्यात हुनेमा सबैभन्दा बढी सेतकचिनी एकलाख ३९ हजार ५०० किलोग्राम रहेको छ ।

सङ्घले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८–०७९ मा ४४ लाख २० हजार २२८ किलोग्राम जडीबुटी भारत निकासी भएकोमा आर्थिक वर्ष २०७९–०८० मा ४४ लाख ७७ हजार ८१७ किलोग्राम जडीबुटी भारत निकासी भएको छ । जडिबुटी व्यवसायी सङ्घका केन्द्रीय सदस्य हफिजुल रहमानले जडिबुटीको कारोबार नेपालका लागि फाइदाजनक भए पनि विभिन्न झन्झटिलो प्रक्रियाले समस्या भइरहेको बताए ।

रहमानले भने, ‘अहिले नेपालगन्जभन्दा सहज भएपछि धेरै व्यवसायी भैरहवा जानुपर्ने बाध्यता छ, सरकारले जडीबुटी निर्यातमा सहज वातावरण बनाइदिनुपर्दछ । विभिन्न पहाडी तथा हिमाली जिल्लामा उत्पादन हुने जडीबुटी सङ्कलन गरी भारत तथा तेस्रो मुलुक निर्यात गर्ने गरिएको छ ।’

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १६:१०