सूचनाको शक्ति - The Power Of Information

        

विवाहित युवाको जीवनबाट किन हराउँदैछ सेक्स ?

‘यदि हामीले समयमै सही परामर्श पाएनौं भने, हाम्रो विवाह टुट्न सक्छ ।’ गुरुग्रामका इन्जिनियर मनिष (नाम परिर्वतन)ले २०१३ मा विवाह गरेका थिए तर सात वर्षभित्रै अर्थात् २०२० मा आइपुग्दा श्रीमतीसँगको सम्बन्ध बिग्रियो ।

उनी भन्छन्, ‘सबै कुरा ठिकठाक हुँदाहुँदै पनि हामीबीच शारीरिक सम्बन्ध निकै कम थियो । यो करिब पाँच वर्षसम्म चल्यो र त्यसपछि सम्बन्धमा यसको प्रभाव देखिन थाल्यो । अन्ततः हामीले काउन्सिलरको सहयोग लिनुपर्यो ।’ मनिष र उनकी श्रीमती दुवै जागिर गर्छन् ।

उनीहरूलाई के भयो त्यो असामान्य कुरा होइन । विश्वभर नै युवा दम्पतीहरू, विशेषगरी विवाहित मिलिनियल्सहरूमा वा युवाहरूमा यौनप्रतिको अनास्था बढ्दै गएको देखिन्छ । १९८० को सुरु देखि १९९० को दशकको बीचमा जन्मेका मानिसहरूलाई मिलेनियल वा जेनेरेसन वाई भनिन्छ ।

उनीहरुको उमेर अहिले २५ देखि ४० वर्षको बीचमा छ । यो त्यो उमेर हो जसमा मानिस शारीरिक सम्बन्धमा सबैभन्दा बढी सक्रिय हुन्छ भन्ने विश्वास गरिन्छ । यसलाई यौन प्राइम टाइम पनि भनिन्छ । तर यो समयमा उनीहरुमा सेक्सको चाहना कम हुने ट्रेन्ड देखिएको छ ।

सेक्समा रुचि घट्दो

इन्डियाना युनिभर्सिटीको किन्जी इन्स्टिच्युट र सेक्स टोय बेच्ने कम्पनी लभ हनीले सन् २०२१ मा १८ देखि ४५ वर्ष उमेर समूहका अमेरिकी युवाहरूमाझ एउटा सर्वेक्षण गरेका थिए । यस सर्वेक्षणका अनुसार गत वर्ष विवाहित जोडीमा यौन इच्छा कम हुने समस्या मिलेनियल्स ( जेनेरेसन वाई) मा सबैभन्दा बढी देखिएको थियो ।

यस अनुसार, विवाहित मिलिनियल्सरूमा २५.८ प्रतिशतले सेक्समा चासो गुमाएको थिए, उनीहरूको पछिको पुस्ता (जेनेरेशन जेड) को १०.५ प्रतिशत र तिनीहरू अघिको पुस्ता (जेनेरेशन एक्स) को २०.२ प्रतिशतले सेक्समा चासो नराख्ने देखिएको छ ।

१९६५ र १९८० को बीचमा जन्मेकाहरूलाई जेनेरेसन एक्स मानिन्छ र १९९० को दशकको अन्त्य र २०१० को दशकको सुरुमा जन्मेकाहरूलाई जेनरेशन जेड मानिन्छ । मनोवैज्ञानिक शिवानी मिश्री साधु दिल्लीमा एक कपल थेरापिस्ट अर्थात् कपललाई परामर्श दिने काम गर्छिन् । उनले मिलिनियल्सको वृद्धिलाई पनि सेक्सप्रति वितृष्णा भएको देखेकी छिन् ।

‘युवा विवाहित जोडीहरू, विशेष गरी मिलिनियल्सहरूले बताउछन् कि उनीहरू यौनमा कम चासो राख्छन् र कम शारीरिक सम्बन्ध राख्छन्,’ उनी बताउँछिन् । विवाहित व्यक्तिहरूबीचको शारीरिक सम्बन्धलाई कम वा कुनै पनि किसिमको कम सम्बन्धलाई यौनविहीन विवाह भनिन्छ, अर्थात् त्यस्ता विवाहहरू जसमा यौनसम्बन्ध लगभग अस्तित्वहीन बनाइन्छ ।

विज्ञहरूका अनुसार दम्पतीले एक वर्षमा १० पटकभन्दा कम यौनसम्पर्क राखेमा त्यस्ता विवाहलाई यौनविहीन विवाह मानिन्छ । किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ता जस्टिन लेहमिलर भन्छन्, ‘जब जोडीमा एक वा दुवैको यौन चाहना कम हुन्छ, तब उनीहरूले कम शारीरिक सम्बन्ध राख्न थाल्छन् । यौन चाहनाको कमीले विवाहलाई यौनविहीन बनाउन सक्छ ।

किन बढ्दैछ ‘दूरी’ ?

अमेरिकाको क्यालिफोर्नियामा सेक्स थेरापिस्ट क्रिस्टिन लोजानो भन्छिन्, ‘इच्छामा असन्तुलन यस्तो विषय हो जसलाई ख्याल गरिएन भने समयसँगै बढ्दै जान्छ । यदि कसैले बारम्बार पहल गर्छ र उसको पार्टनरले उसलाई अस्वीकार गरिरहन्छ भने उसको आत्मसम्मानमा चोट पुग्छ । त्यसैगरी, अस्वीकार गर्ने पार्टनर पनि पछुताउनेछ । जसका कारण यौन उत्तेजना प्रभावित हुन थालेको अवस्था सिर्जना हुन्छ ।’

उनी भन्छिन्, ‘सेक्सलाई असम्भव, पीडादायी, गाह्रो वा अप्रिय बनाउने अन्य मेडिकल वा मनोवैज्ञानिक कारणहरू छन् । व्यस्तता, कामको बोझ र सन्तानका कारण पनि सेक्स कम हुनसक्छ । श्रीमान–श्रीमतीले एकअर्काको चाहनाको बारेमा कुरा नगर्नुको कारण पनि छ । यस्तो समस्या एउटै पुस्ताले मात्र भोग्नुपरेको होइन । तर विज्ञहरूले यो मामिलामा ठूलो परिवर्तन देखिरहेका छन् । ‘पहिले, विवाहको १०–१५ वर्षपछि यौनसम्पर्कमा कमी आउने गर्दथ्यो, तर अहिले हरेक तीनदेखि पाँच वर्षमा यस्तो भइरहेको छ,’ सान फ्रान्सिस्कोकी २० वर्षीय सेक्स थेरापिस्ट सेलेस्टे हर्शम्यान भन्छिन् ।

यही कुरालाई अगाडि बढाउँदै विगत ३० वर्षदेखि सेक्स थेरापिस्ट र क्यालिफोर्निया विश्वविद्यालयका मनोचिकित्सका सहायक प्राध्यापक किम्बर्ली एन्डरसन भन्छिन्, ‘३० वर्षअघि ५० वर्षभन्दा माथिका मानिस यस्तो समस्या लिएर मसँग आउने गर्दथे । यी ती व्यक्तिहरू थिए जसको उमेरसँग सम्बन्धित रोगहरू वा हार्मोनल परिवर्तनहरूका कारण यौन इच्छा कम हुन्थ्यो । तर आजकल ४५ वर्ष मुनिका जोडीको विवाह पनि यौनविहीन बन्दै गएको छ ।’

धेरै किसिमका तनावहरू

अमेरिकाको किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ता जस्टिन लेहमिलर भन्छन्, ‘अत्यधिक तनावले यौन इच्छामा पनि गहिरो प्रभाव पार्छ र मिलिनियल्सहरूले आफ्नो अघिल्लो पुस्ताको तुलनामा बढी तनावको सामना गरिरहेका छन् ।’ यो तनावका धेरै कारण पनि छन् । उदाहरणका लागि, बेलायतको काउन्सिलिङ नेटवर्क ’रिलेट’ द्वारा सन् २०१८ मा गरिएको अनुसन्धान अनुसार, ‘३० देखि ४० वर्ष उमेर समूहका ६१ प्रतिशतले आफ्ना साना बालबालिकाका कारण कम यौनसम्पर्क गर्न सक्ने बताएका छन् ।

३१ प्रतिशतले बच्चा जन्मेपछि आफ्नो यौन चाहना समाप्त भएको स्वीकार गरेका छन् । यसबाहेक, मिलिनियल्सलाई आफ्नो करियरमा सफल र आर्थिक रूपमा बलियो बनाउन दबाब पनि छ । कामको बोझका कारण पनि उनीहरु तनावमा छन् । एक विश्वव्यापी परामर्श कम्पनी डेलोइटले गरेको पाँच देशको अध्ययनका अनुसार,‘मिलिनियल्सका ३८ प्रतिशतले उनीहरू धेरै कामको दबाबमा रहेको बताउँछन् । महिलाहरू (४१ प्रतिशत) पुरुषहरू (३६प्रतिशत) भन्दा बढी यो तनावसँग सामना गर्ने सम्भावना हुन्छ । संख्या ठूलै छ ।’

जस्टिन लेहमिलरका अनुसार, ‘अधिकांश मिलिनियल्सहरूले मन्दी (२००८) को समयमा आफ्नो क्यारियर सुरु गरेका थिए र अहिले कोभिड महामारीले नराम्ररी प्रभावित भएका छन् ।’ त्यसैगरी, जब टेक्नोलोजी पनि तीव्र गतिमा परिवर्तन भइरहेको छ, उनीहरूले पहिलेको भन्दा कडा मेहनत गर्नुपर्छ । उनी वर्कहोलिक बनेका छन् । अत्याधिक कामका कारण दिनको अन्त्यमा यौनसम्पर्क गर्न पनि थकित हुने अवस्था सिर्जना भएको छ ।

सोशल मिडिया र पोर्न

युवाहरूको यौन जीवनमा सामाजिक सञ्जाल र पोर्नको प्रभावलाई बेवास्ता गर्न सकिँदैन । विज्ञहरू भन्छन् कि सोशल मिडियामा धेरै ब्यूटी फिल्टरहरू छन् । यस्तो अवस्थामा वास्तविक जीवनमा कतिपय मानिसमा आफ्नो शरीरको बारेमा इन्फरियरीटि कम्प्लेक्स हुन्छ । काउन्सिलिङ नेटवर्क रिलेटले गरेको सर्वेक्षणका अनुसार, ‘कम यौनसम्पर्क गर्ने ३० वर्ष मुनिका ३७ प्रतिशत युवाहरूले आफ्नो शरीरलाई कमजोर महसुस गरेका छन् ।’

त्यस्तै, न्यूयोर्क सेक्स थेरापिस्ट स्टीफन स्नाइडर भन्छन्, ‘इन्टरनेटमा पोर्नको उपलब्धता बढ्दै गर्दा धेरै मिलनियल्सहरू बढ्दै थिए । अहिले कतिपय मानिसलाई यौनसम्पर्कबाट भन्दा पोर्न हेरेर बढी आनन्द अनुभव हुने गरेको देखिएको छ ।’

समाधान के हो ?

तनावका कारणहरूलाई जीवनबाट पूर्ण रूपमा हटाउन सकिँदैन, न पोर्न वा सोशल मिडियाको प्रभावलाई हटाउन सकिन्छ । त्यसोभए यी कारणले विवाहलाई यौनविहीन हुनबाट कसरी बच्ने ? मनोवैज्ञानिक शिवानी मिश्री साधु भन्छिन्, ‘शारीरिक सम्बन्धमा पति–पत्नी दुवैको चाहना पूरा हुनुपर्छ र दुवैले सन्तुष्टि पाउन जरुरी छ ।’

आपसी संवाद, विश्वास र एकअर्काको इच्छा र सीमाको ख्याल राख्नुपर्छ । सम्बन्ध कति पल्ट बनेको भन्दा धेरै महत्वपूर्ण यो हो कि तपाई बिचको सम्बन्ध कसरी बनिरहेको छ, उनीहरुमा खुशी, आत्मीयता र आनन्द छ या छैन ।’ सम्बन्धमा सञ्चार, आनन्द, सन्तुष्टि र पूर्णताको अनुभूति हुने राम्रो जीवनलाई नै राम्रो यौन जीवन भन्न सकिने विज्ञहरू बताउँछन् ।

त्यसो त, सत्य यो हो कि शारीरिक सम्बन्धमा रुचिको कमी एक यस्तो विषय हो जसमा मानिसहरू आफ्नो पार्टनरसँग कुरा गर्न हिचकिचाउँछन् । तर विज्ञहरू यस्तो भएमा म्यारिज काउन्सिलर वा सेक्स थेरापिस्टको सहयोग लिनुपर्ने सल्लाह दिन्छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १५:४३