सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसले सबै जिल्लामा केन्द्रीय सदस्य खटाउने

पार्टी संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ । केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको छ ।

पार्टी केन्द्रीय समितिको निर्णय अनुसार दुई चरणमा गरिने कार्यक्रम फरक फरक प्रकृति र उद्धेश्यका छन् । पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र राष्ट्रव्यापी अभियानका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागिएको छ ।

सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्मको समय तोकिएको छ । यस अवधि पार्टीको आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्नेछन् ।

पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्य पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । ‘अपूर्ण रहेको कार्यसमिति छ भने सबै संरचनामा पूर्णता दिने कार्य हुन्छ,’ महामन्त्री गगन थापाले भने, ‘बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने कार्य केन्द्रीय सदस्यहरुले गर्नुहुन्छ ।’

केन्द्रमा बनेको जस्तै वार्षिक क्यालेण्डर बनाउन लगाउने जिम्मेवारी पनि केन्द्रीय सदस्यको हुनेछ । ‘भ्रातृ संस्था, शुभेच्छुक संस्था, विभागलाई सबैलाई पूर्णता दिन लगाउने काम गर्नुहुन्छ ।

नयाँ क्रियाशील वितरण, नवीकरण, अनलाइन प्रणाली जानकारी गराउने र कार्यान्वयनमा अघि बढाउने काम हुन्छ,’ महामन्त्री थापाले भने ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १३:३०