पछिल्ला केही दिनयता नेपालमा डेंगुका बिरामी देखिन क्रम बढ्दो क्रममा छ । गत वर्ष महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण यो वर्ष पनि तिब्र रुपमा बढ्न थालेको तथ्यांकले देखाएको छ ।
पछिल्लो दुई सातामा मात्र तीन हजारभन्दा बढी संक्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ । सन् २०२३ को जनावरीदेखि जुलाईको दोस्रो सातासम्म नेपालभरमा १ हजार १०० जति बिरामी भेटिएकोमा जुलाईको अन्तिम सातासम्म आइपुग्दा देशभर ४ हजार ६१९ जनामा डेंगुको संक्रमण भेटिएको छ ।
महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ७० जिल्लामा डेंगुको संक्रमण देखिइसकेको छ । यो वर्ष सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगुको संक्रमण देखिएको छ भने सातै प्रदेशमा डेंगुको संक्रमण देखिएको महाशाखाको तथ्यांक छ । महाशाखाको तथ्यांक अनुसार कोशी प्रदेशमा मात्र २ हजार ९७१ जनामा डेंगु पुष्टि भइसकेको छ ।
यस्तै बागमती प्रदेशमा ७६७, गण्डकी प्रदेशमा ३४७, सुदुरपश्चिम प्रदेशमा ३१८, लुम्बिनी प्रदेशमा १६८ जनामा डेंगु पुष्टि भइसकेको छ । यस्तै मधेश प्रदेशमा २५ र कर्णाली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भइसकेको छ ।
सबैभन्दा धेरै संक्रमित सुनसरीमा
सन् २०२३ को सुरुवाती अवस्था देखि नै डेंगु संक्रमित देखिएको सुनसरीमा पछिल्लो समय डेंगुको बिरामी तिब्र गतिमा बढ्दै गएका छन् । सुनसरीमा मात्र गत जनावरी देखि २४ जुलाई सम्ममा २ हजार ७३७ जनामा डेंगु पुष्टि भएको छ ।
सुनसरीमा जनावरीमा ६ जना, फेब्रुअरीमा २, मार्चमा ३ जनामा डेंगु पुष्टि भएको थियो भने अप्रिल र मे मा एक एक जनामा मात्र डेंगु देखिएको थियो । तर जुन देखि भने डेंगुको संक्रमण बढेर ६६७ जनामा संक्रमण देखिएको थियो ।
यस्तै जुलाई २४ सम्ममा मात्र २ हजार ५७ जनामा डेंगु पुष्टि भएको महाशाखाको तथ्यांक छ । डेंगुका बिरामी बढी देखिएको दोस्रो जिल्ला धादिङमा गत जनावरी देखि २४ जुलाई सममा ४८३ जनामा डेंगु संक्रमण देखिएको छ ।
सोही अवधिमा कास्कीमा २०८,दार्चुलामा १९०, काठमाडौंमा ८८, संखुवासभामा ७५, म्याग्दीमा ५४ र कञ्चनपुरमा ५२ जनामा डेंगु पुष्टि भइसकेको छ । सन् २०२२ मा ५४ हजार ७८४ जनामा डेंगुको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । डेंगुका बिरामी बढ्दै गएसँगै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेंगु क्लिनिक तथा वार्ड सञ्चालनमा ल्याएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं