सूचनाको शक्ति - The Power Of Information

        

किसानका दुःख, ‘भारतीय मलकै भरमा खेती’

यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् ।

‘रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ,’ टीकापुर–८ का श्यामलाल चौधरीले भने, ‘सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ । बाध्य भएर भारतबाट ल्याएर प्रयोग गरेका छौँ ।’ भारतबाट ल्याएको मल प्रयोग गरे पनि खेती कस्तो पो हुन्छ भन्ने चिन्तामा छन् ।

चौधरीले भने, ‘सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि पाइएन ।’ सरकारले उपलब्ध गराउने मल नपाएपछि यस वर्ष किसान खेती गर्ने नगर्ने भन्ने दोधारमा थिए । बर्सेनि बाढीले क्षति पुर्याउँदा दिक्क भएका किसान मल नपाएपछि झन निरास भएका थिए ।

‘जहिल्यै बाढीको त्रास हुन्छ, अघिल्ला दुई वर्ष धानबाली सबै बाढीले बगायो, मल नपाएपछि खेती गर्न मन मरेको छ ?,’ स्थानीय शेरबहादुर साउँदले भने, ‘सात बोरा डिएपी र सात बोरा यूरिया मलको खाँचो थियो, एक बोरा पनि पाइएन । भारतबाट ल्याएर प्रयोग गरे ।’ टीकापुरमा सबैभन्दा बढी धान खेती हुने टीकापुर नगरपालिका वडा ६, ७, ८ र ९ नम्बर हुन् ।

 

यी वडामा पाँच सहकारीले मल बिक्री गर्ने गरेका छन् । यसरी सञ्चालित सहकारीले आवश्यक मल नपाएको जनाएका छन् । ‘सहकारीले पर्याप्त मल नपाएपछि किसानलाई उपलब्ध गराउन सकेनौँ,’ वडा नम्बर ६ स्थित लक्ष्मी नारायण सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतले भने, ‘२५ प्रतिशत मात्र मल पायौँ ।’

लक्ष्मीनारायण सहकारीले यस वर्ष ९५० बोरा युरिया, ३५० बोरा डिएपी र १०० क्विन्टल अर्गानिक मल किसानलाई उपलब्ध गराएको थियो । उक्त मल अघिल्लो वर्षको तुलनामा आधा मात्र हो । ‘सहकारीले नै मल नपाएपछि किसानले पाउने कुरै भएन, अघिल्लो वर्षभन्दा आधामात्र मल आयो,’ कडायत भन्छन्, ‘मल ल्याउने प्रयासमा छौँ ।’

मल नभएकै कारण झार बढी उम्रेको किसानहरुको गुनासो छ । झार मारेर डिएपी हाल्न पाएको भए धानबाली सप्रिने थियो भन्दै किसान मल खोज्न भौतारिएका छन् । कैलालीको भजनी र जोशीपुर क्षेत्रका किसानले पनि नेपाली मल नपाएपछि भारतबाट मल ल्याउनुपरेको गुनासो गरेका छन् ।

स्थानीय युवासिंह ठकुरीले भने, ‘भारतबाट तस्करी गरी ल्याएको मलको भर हुँदैन, तै पनि प्रयोग गर्नु हाम्रो बाध्यता छ ।’ अघिल्लो पटक भारतको मलमा विश्वास गर्दा कतिपय किसान ठगिएको ठकुरीले बताए । सरकारले समयमै मल उपलब्ध नगराउँदा किसानले भारतबाट मल ल्याएर काम चलाउने गर्छन् ।

‘यसरी मल ल्याउँदा प्रहरीले सताउने गरेका छन्,’ उनले भने, ‘यसपटक सीमामा प्रहरी र किसानबीच हात हालाहालको अवस्था आयो ।’ भजनीका कतिपय वडामा चैते धान खेती हुने गरेको छ भने बर्सातमा बाढीका कारण खेती हुँदैन । जोशीपुरका सुकदेव चौधरीलाई पनि यसपटक खेती गर्न मल पाउन निकै सकस भयो ।

उनले स्थानीय सहकारीमा मल नपाएपछि भारतको तिकुनीयाबाट मल ल्याए । ‘मलाई १४ क्विन्टल मल आवश्यक थियो,’ उनले भने, ‘सीमामा निकै कठिनाइ झेलेर, क्यारिङ गर्नेको सहयोगमा पाँच दिन लगाएर मल पाए । यसरी दुःख र तनावमा कति दिन खेती गर्न सकिएला भन्ने लागेको छ ।’

किसानलाई धान खेती हुर्किएपछि पनि मल आवश्यक पर्छ । तर अहिले पनि मल अभाव छ । किसानका लागि आवश्यक मल र बीउ सहजै उपलब्ध हुनुपर्छ । मल, बीउ र सिँचाइजस्ता कुरा सहज भए उत्पादन वृद्धि गर्न तथा किसानलाई कृषितर्फ आकर्षित गर्न सकिन्छ ।

स्रोत : रासस
प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १५:४६