सूचनाको शक्ति - The Power Of Information

        

साउनदेखि पुससम्म रगत संकलनमा कमी !

वर्षायाम सुरु भएसँगै रगत संकलन कम हुन थालेको छ । रगत संकलन र आपूर्ति गर्दै आएको संस्था केन्द्रीय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मंसिरसम्म मानिस खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत संकलनमा कमी हुने गरेको हो ।

वर्षातको समय सुरु भएदेखि मंसिर पुससम्म दैनिक करिव ८०० युनिटमात्रै रगत संकलन हुने केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले बताए । उनले अन्य समयमा नेपालमा एक हजार १०० युनिटसम्म रगत संकलन हुने गरेको बताए ।

केन्द्रीय रक्त सञ्चार सेवातर्फ २०७९–०८० मा ३३ हजार ४८५ युनिट रगत संकलन भएको थियो । उनका अनुसार सो अवधिमा ५४ हजार १२३ युनिट रगत वितरण भएको थियो । रक्तदातालाई रक्तदान गर्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको र गत वर्षहरूको तथ्यांक अनुसार देशभर दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्ने बताए ।

देशभर १२० वटा रक्त सञ्चार सेवा रहेका छन् । हाल देशभर दुई लाख ६२ हजार ४८१ नियमित रक्तदाता रहेका छन् । निर्देशक पौडेलले नेपालमा कुल जनसंख्याको ०.९ प्रतिशत नागरिक नियमित रक्तदाता रहेको बताए । कुल जनसंख्याको १.५ प्रतिशत रक्तदाता भए नेपालमा रगतको अभाव नहुने उनको भनाइ छ ।

नेपालका रक्तदाताहरूको परोपकारी भावना रहेको र यसलाई दुई गुणा बनाउन सके चाहिएको बेला रगत दिन सकिने पौडेल बताउँछन् । १८ वर्ष उमेर पुगेपछि जन्मदिन महोत्सव रक्तदान गरेर मनाऔं भन्ने अभियानलाई पनि अघि बढाएको उनले बताए । निर्देशक पौडेल पाठ्यक्रममै रक्तदानलाई प्रवर्द्धन गर्ने खालका विषय समावेश गर्नुपर्ने धारणा राख्छन् ।

पौडेलले संघ र प्रदेश सरकारले विपन्नहरूलाई रगतमा सहुलियत दिने व्यवस्था गर्ने प्रवन्ध मिलाउनुपर्ने बताए । पछिल्लो तथ्यांक अनुसार नेपाल रेडक्रस सोसाइटीबाट देशभर एक वर्षको अवधिमा दुई लाख ७३ हजार १७० युनिट रगत संकलन भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १०:२९