सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशसभा रोज्ने ‘हेभिवेट’ उम्मेदवार

काठमाडौँ । संघीय संरचनामा पहिलो पटक हुन लागेको प्रदेशसभा निर्वाचनमा केन्द्रीय संसद्का चर्चित अनुहार पनि प्रतिस्पर्धामा छन् । प्रदेशको मुख्यमन्त्रीको आकांक्षामा कतिपय प्रदेशको चुनावी मैदानमा छन्। कतिपय प्रतिनिधिसभामा टिकट पाउन नसकेपछि राजनीतिक यात्रालाई निरन्तरता दिन प्रदेश रोज्न बाध्य भएका छन् । प्रदेशसभा रोज्ने ‘हेभिवेट’ पात्र सबैभन्दा बढी एमालेमा छन् । केन्द्रको संसदीय भूमिकामा अब्बल ठहरिएका माओवादी केन्द्रका केही नेताहरु प्रदेश झरेका छन् । कांग्रेसका थोरैमात्र नेताले प्रदेश रोजेका छन् ।
प्रदेश १ मा एमालेमा मुख्यमन्त्रीको दाबीसहित एमाले सचिव भीम आचार्य, पूर्वमन्त्री शेरधन राई, युवा नेता रोजेन्द्र राई प्रदेशसभा तर्फ उम्मेदवार बनेका छन् । यस्तै, प्रदेश ३ बाट केन्द्रीय संसदमा प्रभावशाली भूमिकामा रहेका एमालेका राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ, अष्टलक्ष्मी शाक्य प्रदेशसभा उम्मेदवार बनेका छन् । यसअघि प्रतिनिधिसभातर्फ प्रतिस्पर्धा गर्दै आएका कैलाश ढुङ्गेल, अरुण नेपाल लगायतका केन्द्रीय राजनीतिमा चर्चामा रहेका पात्र पनि प्रदेशसभामा उम्मेदवार बनेका छन् । संसदीय राजनीतिमा चिनिएका एमालेका पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, प्रकाश ज्वाला, रामेश्वर फुयाल पनि प्रदेशसभा तर्फ नै उम्मेदवार बनेका छन् ।
तुलनात्मक रुपमा अन्य दलभन्दा एमालेका बढी नेताहरु प्रदेशसभामा उम्मेदवार बनेका छन् । कांग्रेसबाट पूर्वमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभामा उम्मेदवार बनेका छन् । कांग्रेसका युवा नेता प्रदीप पौडेल, ध्रुव वाग्ले पनि प्रदेशसभामा उम्मेदवार बनेका छन् । संविधानसभामा प्रतिनिधित्व गरेका कांग्रेसका अर्का युवा नेता जगदिश्वर नरसिंह केसी पनि प्रदेशसभा तर्फ प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रका तर्फबाट हाल बिना विभागीय मन्त्री रहेका महेन्द्रबहादुर शाही प्रदेशसभामा प्रतिस्पर्धामा छन् । शालिकराम जमरकट्टेल, पूर्व राज्यमन्त्री राधिका तामाङ लगायत पनि माओवादीबाट प्रदेशसभामा प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७४, आइतवार ०८:००