बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिए उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो । बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए ।
कार्कीको जवाफ थियो, ‘पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ ।’ कार्की सदरमुकाम चैनपुर बस्न थालेको पाँच वर्ष भइसक्यो । एअरपोर्टमा बस्दाबाहेक बीच बजारमा सरेपछि उनले हरेक पटक नुन विभिन्न पसलहरूबाट किन्दै आएका छन् । पसलबाट किनिएको नुन भने कताबाट आएको हो भन्ने उनलाई जानकारी छैन ।
‘नुन सकिएपछि जुन पसल खुला हुन्छ, त्यो पसलमा जान्छु । नुन मागेपछि पाइहाल्छु,’ उनले भने । सुर्माकी रमा बोहरालाई पनि चैनपुरमा नुन किन्न कहिल्यै समस्या परेन । बजारमा जानेबित्तिकै नुन पाइरहेको उनले बताइन् । ‘म आएको डेढ वर्ष हुन लागिसक्यो,’ उनले भनिन्, ‘सबै मान्छे नुनै पाइँदैन भन्छन् । मलाई भने अहिलेसम्म कहिल्यै समस्या परेन । पैसा भए सुनसमेत पाउने ठाउँमा नुन पाइँदैन भन्नु अचम्मको कुरा हो ।’
बजारमा आफूले चाहेमा जति पनि नुन किन्न सक्ने उनले बताइन् । ‘मैले गत साता मात्रै एउटा पसलबाट १५ पाकेट नुन किनेर गाउँ पठाएकी थिएँ ।’ गाउँमा पशुलाई समेत पाकेटकै नुन खुवाउने गरेको उनले सुनाइन् । राजेश र रमा जस्तै पसलेका ग्राहक हुन् दुर्गाथली गाउँपालिका जुजीका हेमराज जोशी । जोशीलाई पनि बझाङमा नुन सङ्कट भएको भन्ने अचम्म लाग्छ ।
‘हिजो मात्रै मैले मन्दिर नजिकैको पसलबाट एक पाकेट नुन ल्याएको हुँ । कसरी सङ्कट भयो ?’ धेरै किन्नु नपर्ने तर, कहिलेकाहीँ एक, दुई पाकेट जता पनि पाइने हुँदा समस्या नपरेको उनले बताए । जोशीले भने, ‘पैसा भए सुन त सजिलै पाउँछ भने नुन किन नपाउनु !’ बझाङमा नुन विक्रीका लागि आधिकारिक विक्रेता भनेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हो । साल्ट ट्रेडिङको डिपोबाहेक कसैले पनि नुन बेच्न पाउँदैन ।
तर, राजेश, रमा, हेमराज जस्तै सयौँ ग्राहक भने साल्ट ट्रेडिङको नुन बेच्ने पसलेबाटै कारोबार गरिरहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट प्रति पाकेट नौ रुपैयाँमा किनेर व्यापारीले १५ देखि २० रुपैयाँमा बेच्दै आएका छन् । व्यापारीले साल्ट ट्रेडिङकै नुन बिक्री गरिरहेको जानकारी पाएपछि राससको टिम ग्राहक बनेर जाँदा एक पसलले १५ रुपैयाँमा एक पाकेट ‘भानु’ नुन थमाए ।
साल्ट ट्रेडिङको नुन किन बेचेको भन्ने प्रश्नमा भने उनी नाजवाफ भए । उनले आत्तिँदै भने, ‘ग्राहक नुनका लागि आउनुहुन्छ । उहाँहरूलाई समस्या नहोस् भनेर आफूलाई खानका लागि ल्याएको केही पाकेट नुन पसलमा राखेको हुँ ।’ उनले आफूले मात्रै नभई बजारमा धेरैले बिक्री गर्ने गरेको बताए । चैनपुरका केही पसलहरूमा निर्धक्कसँग साल्ट ट्रेडिङको नुन बिक्री भइरहेको छ ।
डिपोबाट कट्टाका हिसाबले नुन ल्याउने र महँगोमा व्यापारीले विक्री गर्ने गरेको खप्तडछान्ना–६ का महेश थापा बताउँछन् । ‘व्यापारीले बर्खा नलाग्दै क्विन्टलका हिसाबले डिपोबाट नुन उठाए । अहिले डिपोमा नुन घट्यो, किन्नेको चाप बढ्यो । यता व्यापारीहरू लुकिछुपी बेच्न थाले ।’ यसरी अवैधानिकरूपमा किनबेच गर्नेलाई सरोकारवालाले अनुगमन गरेर कारबाही गर्नुपर्ने उनले बताए ।
डिपोमा पाँच केजी पाउन घण्टौँ लाइन
मष्टा गाउँपालिका–१ की सरूदेवी विक आइतबार नुन किन्न डिपोको लाइनमा थिइन् । बिहानैदेखि लाइनमा बसेकी विकले तीन घण्टापछि पाँच पाकेट मात्रै नुन पाइन् । ‘सहुलियतको नुन लिन बिहानै देउरानी, जेठानी चैनपुर आयौँ,’ उनले भने, ‘यता पाँच केजी नुन मात्रै पाइयो । अब यो कतिसम्म चल्छ होला र !’ पाँच पाकेट नुनकै लागि धेरै खर्च गर्नुपरेको उनले बताइन् ।
गाउँमा वर्षायामका बेला नुनको सङ्कट नहोस् भनेर डिपोमा आएको मष्टाकै सुमी विकले बताइन् । ‘एक दुई पोका नुन त थियो । तर, नुनको सङ्कट भएको भनेर सुन्यौँ । बर्खामा चैनपुर आइरहन सकिँदैन । त्यसैले मौसम पनि ठीकै, आइतबार पानी परेको हुँदा नुन लिन आएकी हुँ । यता एक ज्यानको पाँच पोका मात्रै पाइँदो रहेछ,’ सुमीले भनिन् । नुन वितरणमा दुरूपयोग हुने गरेको गुनासो आएपछि गत महिनायता चैनपुर डिपोले आइतबार मात्रै बिक्री वितरण गर्दै आएको छ ।
डिपोले जनसङ्ख्याको तुलना गरेर औसतमा एक परिवारलाई पाँच केजी नुन वितरण गर्दै आएको हो । ‘नुन लिन आउने सबैलाई पुर्याउनका लागि एक जनालाई पाँच केजी दिएका हौँ,’ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय प्रमुख नरबहादुर भाटले भने, ‘ग्राहकले मागेअनुसारको नुन दिएमा अरूलाई नपुग्ने देखियो । त्यसैले प्रत्येकलाई पाँच केजी दिने निर्णय गरेका हौँ ।’ अब यो सङ्कट यसै साताबाट टर्ने उनले बताए ।
भाटका अनुसार नुन थपका लागि माग गरिएको र नयाँ लटको नुन पनि आउने बेला भएको हुँदा दोस्रो साताबाटै नुन वितरण सहज हुने उनले बताए । चैनपुर डिपोमा सरकारले गएको आर्थिक वर्षमा तीन हजार ५०० क्विन्टल नुन उपलब्ध गराएको थियो । यसपटक थलारा र बुंगलसहितका डिपो थपिएपछि चालु आर्थिक वर्षका लागि जिल्लाभर १४ हजार २०० क्विन्टल नुनका लागि सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
‘चैतको अन्तिमतिरै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीमा आयोडिनयुक्त नुनको माग गरिसकेका छौँ,’ उनले भने । प्रजिअ पाण्डेयका अनुसार चालु आवका लागि चैनपुर डिपोमा सात हजार, बागथला पाँच हजार, तलकोट एक हजार ५०० र साइपाल बिक्री केन्द्रका लागि ७०० क्विन्टल आवश्यक पर्ने प्रारम्भिक अनुमान अनुसार माग गरिएको हो ।
‘अहिले पनि नुनको सङ्कट भने होइन,’ उनले भने, ‘आवश्यकताअनुसार नुन वितरण भइरहेकै छ । सङ्कट भएको हल्ला मात्रै हो ।’ केही कम हुन सक्छ कि भनेर प्रतिव्यक्ति पाँच पाकेट वितरण गरिरहेको उनले बताए । ‘अब नयाँ सिजन पनि सुरू भइसक्यो । सायद अर्को साता नै प्रतिव्यक्ति १० पाकेट वितरण गर्ने तयारी गरेका छौँ,’ उनले भने ।
बजारमा नुन बिक्री भइरहेको विषयमा भने अब लगत्तै बजार अनुगमन गरिने उनले बताए । ‘यो गुनासो सुनिरहेका छौँ,’ उनले भने, ‘बजारमा कसैले नुन बेचेको खबर हामीलाई गरे तत्काल कारबाही हुन्थ्यो । धेरैलाई खबर गर्न आग्रह पनि गरेका छौँ । आधिकारिक जानकारी कसैले दिएको छैन । अब कसैलाई ग्राहक बनाएर पठाउने र गडबड भए कडा कारबाही गरिनेछ ।’
सत्यपाटी संवाददाता । बझाङ