वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् ।
पहिराले बुटवल-पाल्पा, गोरुसिंगे-सन्धिखर्क, राम्दी-रामपुर र भालुबाङ -प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर थापाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल-पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध छ ।
यस्तै रम्भा गाउँपालिका १ सांदीखोला नजिक पहिरो खस्दा राम्दी-रामपुर सडक अवरुद्ध भएको छ ।
अर्घाखाँचीको शीतगंगा-१२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिंगे-सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ ।
यस्तै प्युठानको माण्डवी-गर्जेनीमा पहिरा खस्दा भालुबाङ -प्युठान सडक अवरुद्ध भएको डीएसपी होमबहादुर थापाले जानकारी दिए ।
भारी वर्षाका कारण पाल्पा हुँदै रुपन्देहीमा बग्ने तिनाउ नदीले जल सतहले खतराको तह पार गरेको छ । स्थानीयका अनुसार तिनाउ नदीमा धेरै वर्षपछि सबैभन्दा ठूलो बाढी आएको छ ।
सोही कारण मौसम विज्ञान विभागले मध्यान्ह १२ बजेसम्म तिनाउ नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।
सत्यपाटी संवाददाता । बाँके