सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर खानेपानीमा बागी उम्मेदवारी दिएका तिवारी कांग्रेसबाट निष्काशित

 नेपाली कांग्रेस बाँकेले कोहलपुर वृहत्तर खानेपानी उपभोक्ता संस्थामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध आफ्नो नेतृत्वमा प्यानलसहित उम्मेदवारी दिएका विष्णुप्रसाद तिवारीलाई पार्टीबाट निष्काशन गरेको छ ।

तिवारी कांग्रेसका क्रियाशील सदस्य एवम् कोहलपुर नगरपालिका वडा नम्बर ५ का पूर्व अध्यक्ष हुन् । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ८ का क्रियाशील सदस्य हरिप्रसाद अधिकारीले अन्य समूहका उम्मेदवारहरुको प्रस्तावक र समर्थक भई पार्टीलाई क्षती हुने कार्य गरेको भन्दै पार्टीबाट निष्काशन गरिएको छ ।

अनुशासन समिति संयोजक टंकप्रसाद काफ्ले (आशिष) ले तिवारी र अधिकारीलाई पार्टीको विधान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४ (क) र पार्टीको नियमावली २०७६ परिच्छेद १० को बुँदा नम्बर २९ को १ (क) र (ङ) का साथै नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलन २०७९ को प्रतिवेदन १२ को (च) बमोजिम ५ बर्षका लागि पार्टीबाट निष्कासन गरिएको बताए ।

काफ्लेले उनीहरुको प्रचारप्रसार नगर्न निर्देशन दिँदै त्यसो गरेको पाइएमा स्पष्टीकरण सोध्नुका साथै कार्वाही गरिने चेतावनी दिएका छन् । कोहलपुर वृहत्तर खानेपानी उपभोक्ता संस्थाको निर्वाचन साउन १२ गते हुँदैछ ।

उक्त निर्वाचनमा नेपाली  कांग्रेसबाट टेकनारायण भुषालको प्यानल प्रतिष्पर्धामा छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार १९:३७