सूचनाको शक्ति - The Power Of Information

        

विदेशबाट फर्केर मादल बनाउँदै कमल

बुवाबाट मादल बनाउने सीप सिकेका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका हुन् ।

बुवासित मादल बनाउने काम गर्दा गर्दै जागिरको खोजीमा विदेश पुगेका उनीले विदेशको बसाइलाई बिटमार्दै फेरि मादल बनाउने पेसामै फर्किएका छन् । हाल उनले यसैलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजनाका साथ सक्रिय भएका छन् ।

‘बुवासँगै मादल बनाउन सिक्नदै र बनाउँदै गर्दा कामको खोजीमा विदेश गएँ,’ उनले भने । कमलले पाँच वर्ष चार महिना विदेशी भूमिमा पसिना बगाएँपछि स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गरेको बताए ।

राङखोलामा आफ्नो छुट्टै मादल उद्योग सञ्चालन गरेका गन्धर्वलाई नयाँ मादल बनाउने, मर्मत गर्ने लगायतका काम गर्न अहिले भ्याइनभ्याइ छ । रु चार लाख लगानीमा व्यवसाय सुरु गरेका गन्धर्वले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहेको बताए ।

नयाँ मादल बनाउनुका साथै पुराना मादल, मिर्दुङ्गा, नगरा, डमरु, खैँजडी, नेवारी बाजा मर्मतबाट उनले आम्दानी गरिरहेका छन् । ‘अहिले नयाँ बाजाका सेट तथा बाजाका सेट बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ,’ उनले भने ।

गन्धर्वका अनुसार यहाँ उत्पादन भएका मादल तथा बाजाका सेटहरु स्याङ्जा, वालिङ, गल्याङ, पाल्पाको रामपुर, पोखरा लगायतका ठाउँमा बिक्री हुन्छ । मादल बनाउनका लागि रातो उत्तिसको काठ प्रयोग हुन्छ ।

काठ धादिङबाट आउने गरेको छ भने छाला भारतबाट ल्याउने उनले बताए । मादलको आकार अनुसार रु १८ सयदेखि रु २५ सयसम्ममा बिक्री हुन्छ । उनले मागअनुसार काम गर्न कामदारको प्रयोग गर्दै आएका छन् ।

‘विदेशी भूमिमा बगाएको पसिना स्वदेशी भूमिमा बगाउन पाउँदा खुसी लागेको छ,’ कमलले भने, ‘विदेशको बसाई छोट्याएर फर्केपछि आफ्नै ठाउँमा सुरु गरेको पुर्ख्यौली पेसाबाट म सन्तुष्ट छु ।’

स्रोत : रासस
प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार १७:५४