सूचनाको शक्ति - The Power Of Information

        

पर्याप्त पानी नहुँदा सुक्न थाल्यो रोपेको धान

वर्षाको भरमा खेती हुने बाँकेमा पर्याप्त पानी नहुँदा रोपेको धान पनि सुक्न थालेपछि किसान चिन्तत भएका छन् । केही किसानका खेतबारी पानीको अभावमा अझै बाँझै रहेका छन् भने जसोतसो रोपाइँ गरेका अधिकांशको धान पनि वर्षा नहुँदा सुक्न थालेका छन् ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमदले हालसम्म पनि जिल्लामा पर्याप्त वर्षा नभएकाले धेरै किसानका धान सुक्न थालेको बताए । उनले सिक्टा सिँचाइ नहर वरिपरिको धानलाई कुनै प्रभाव नपरे पनि मोटरले पानी तानेर वा अन्य प्रविधिबाट रोपाइँ गरेका किसान खडेरीका कारण समस्यामा पर्न थालेको बताए ।

प्रमुख अहमदले भने, ‘मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएकाले किसान चिन्तामा छन्, केही दिन पानी परेन भने गम्भीर अवस्था हुनेछ ।’ बाँकेमा दुई सातादेखि पानी पर्न सकेको छैन । खडेरीले बाँकेको कृषिमा नराम्रो असर पर्दै गएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।

केन्द्रका अनुसार यसपटक पर्याप्त वर्षा नभएकाले बाँकेमा अहिलेसम्म सबैतिर रोपाइँ हुन सकेको छैन । बाँकेमा हालसम्म ७२ प्रतिशत मात्र रोपाइँ भएको छ । बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुने गर्दछ । आधा जतिमा अझै पनि धान खेतीका लागि आकाशे पानीकै भर पर्नुपर्ने भएकाले सो खेती समयमा हुन सकेका छैनन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार १६:५५