सूचनाको शक्ति - The Power Of Information

        

दुई सातादेखि मुगुमा विद्युत् सेवा अवरुद्ध

मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् ।

गत असार २७ गतेदेखि गमगढी साना जलविद्युत् आयोजनाको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो । अहिले जिल्ला सदरमुकाम गमगढी लगायत आसपासका ८७ बस्ती अन्धकारमा छन् । विसं २०६८ मा स्थापना भएकोे सो आयोजनामा पटक–पटक समस्या आउने गरेको छ । यसका कारण मुगुका तीन हजार १०० घरधुरी प्रत्यक्ष मारमा परेका छन् ।

विद्युत् नहुँदा सरकारी कामकाजका साथै बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा बाधा पुगेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रबन्धक प्रकाश भामले बताए । विद्युत गृहको मुहानमा बाढी पस्दा नहरमा बालुवा र लेदोले पुर्दा नहरमा पानी प्रवाह नभएपछि विद्युत् उत्पादन बन्द भएको जनाइएको छ ।

पटक–पटक बालुवा हटाउन प्रयास गरे पनि सम्भव नभएको र गत वर्षको बाढीका कारण खोलाले धार परिर्वतन गरेपछि वर्षातको समयमा भलसँगै आउने लेदो र बालुवाले नहर जाम हुने गरेको छ । यसका कारण विद्युत् उत्पादनमा समस्या भएको गमगढी साना जलविद्युत् आयोजनाका प्राविधिक छिरिङ लामाले जानकारी दिए ।

४०० किलोवाट विद्युत् उत्पादन क्षमता भएको आयोजनामा रहेका विद्युत् उत्पादन गर्ने दुई मेसिनमध्ये एक लामो समयदेखि चालु अवस्थामा छैन भने चालु रहेको मेसिनले जेनतेन १६० किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो । हरेक वर्ष वर्षाको समयमा गमगाढ वितरण केन्द्रको मुहान, पावर हाउसमा पटक–पटक समस्या आउने र विद्युत् सेवा अवरुद्ध हुने गरेको छ ।

समस्या समधानका लागि काम त गरिन्छ । त्यो प्रभावकारी र दिगो हुनसकेको छैन । दीर्घकालीन समाधानको योजना विद्युत् प्राधिकरणले नबनाउँदा हरेक वर्ष पानी र हिउँ पर्दा विद्युत् सेवाबाट नागरिकले सास्ती खेप्नु परिरहेको छायाँनाथ रारा नगरपालिका–६ का स्थानीय धनबहादुर भाम बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुगुमा राष्टिय प्रसारण लाइन असारमा पुर्याउने घोषणा गरेका थिए ।

विद्युत् सेवा अवरुद्ध भएपछि नहरको बालुवा हटाउन सशस्त्र प्रहरीदेखि प्राधिकरणका कर्मचारी दिनरात काममा खटिँदै आए पनि साँघुरो नहर, एक जनामात्र भित्र पस्न सक्ने अवस्था भएकाले बालुवा र लेदो हटाउन समस्या भएको जनाइएको छ । गमगाढ खोला सिधैँ नहरमा जोडिएकाले पनि प्रत्येक वर्षामा बालुवा तथा लेदो थपिँदै जाने गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार १६:३६