महोत्तरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्देश्वर यादवमाथि कुटपिट भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत यादवमाथि बिहीबार राति १० बजेको समयमा जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा कुटपिट भएको हो ।
उनको दायाँ खुट्टा फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । प्रवक्ता गिरीका अनुसार अहिले उनको काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
धनुषामा कार्यरत डीएसपी यादव एक्लै जलेश्वर किन गए भन्नेबारे केहि खुलेको छैन । घटना रहस्यमय रहेको र प्रहरीले लुकाउन खोजेको बुझिएको छ । यद्यपी उक्त घटनाको छानविन गर्न समिति गठन गरिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको हो । समितिले शनिबार घटनास्थल पुगेर निरीक्षण गरेको छ । डीएसपी यादव केही महिना अगाडि मात्रै महोत्तरीबाट सुरुवा भई धुनषा आएका थिए ।
सत्यपाटी संवाददाता । महोत्तरी