सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ३० प्रतिशत रोपाइँ हुन बाँकी

बाँकेमा शतप्रतिशत रोपाइँ हुन सकेको छैन । साउन महिना सुरु भईसक्दापनि वर्षात कम हुँदा रोपाइँ हुन नसकेको हो । बाँकेमा सिचाइँ सुविधा नपुग्दा आकाशे पानीको भर पनुपर्ने किसानहरुमा बाध्यता छ ।

जसको कारण साउन पहिलो हप्ता लाग्दा समेत सबैका खेतमा रोपाइँ नभएको हो । साउन सुरुभईसक्दा पनि पर्याप्त पानी नपरेका कारण कतिपयका खेतहरु अँझै बाँझै देख्न सकिन्छ ।

बाँके जिल्लामा अहिलेसम्म ७० प्रतिशत मात्रै रोपाई भएको बाँके स्थित कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सकिल अहमदले जानकारी दिए । उनका अनुसार अँझै ३० प्रतिशत रोपाइँ हुन बाँकी नै छ ।

सिचाइँ सुविधा नहुँदा खेती किसानी गर्नेहरुलाई वर्षेनी हैरानी खेप्नुपरेको छ । जसका कारण आकाशे पानीको भर पर्नुपर्ने अवस्था विद्यमान छ । सिचाइँ सुविधा नभएका कारण आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको नरैनापुर गाउँपालिका–६ का किसान सोहनलाल यादव बताउछन् ।

कृषि ज्ञान केन्द्र, नेपालगन्ज बाँकेका अनुसार हालसम्म पनि राम्रो वर्षा नभएकोले अपेक्षित रोपाइँ हुन नसकेको हो । कृषि ज्ञान केन्द्र, नेपालगन्जका प्रमुख शकिल अहमदले यसपटक पर्याप्त वर्षा नभएकोले सबैतिर रोपाइँ हुन नसकेको बताए ।

उनका अनुसार हालसम्म भएको ७० प्रतिशत रोपाइँ पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा मात्रै गरिएको छ ।

प्रमुख अहमदले हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाइँ भएको र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार विगतका वर्षहरू झैँ यो वर्ष पनि बाँकेमा ढिलो गरी धान रोपाइँ शुरु भएको हो । असार १५ गते अघिसम्म बाँकेमा पानी परेको थिएन । धेरै किसानले धानको बीउ (ब्याड) राख्न पाएका थिएनन् । सिँचाइ सुविधा भएको ठाउँमा मात्र बीउ राखिएको थियो ।

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गर्दछ । अधिकांश ठाउँमा आकाशे पानीकै भर पर्नुपर्ने भएकाले धानखेती समयमा हुन सकेको छैन । पछिल्ला बर्षहरुमा बाँकेका किसान समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपे पनि पछि बाढीले क्षति पु¥याउने, मल अभाव लगायतका समस्यामा पर्दै आएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १८:४४