कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा वर्षौदेखि खानेपानीको समस्या उस्तै छ । पछिल्लो समय प्रदेशको राजधानी भएपछि जनसंख्या बढ्दै गएको छ भने, खानेपानीको समस्या झन विकराल बन्दै गएको छ । स्थानीय, प्रदेश र संघीय सरकार सरकारले अहिलेसम्म वीरेन्द्रनगरमा पानीको समस्या सल्टाउन सकेका छैनन् ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर उपत्यकामा तीनै तहका स्थानीय सरकारले खानेपानी समस्या समाधान गर्न नसक्दा उपभोक्ता काकाकुल छन् । बर्षात्मा पानीका मुहानहरु खुल्ने भएकाले पानीको हाहाकार हुँदा अचम्म मान्नुपर्छ । अझ प्रदेश राजधानीमै बर्षायाममै पानीको हाहाकार हुँदा झन् अचम्म लाग्छ । अहिले पानी फालाफाल हुनुपर्ने समय हो ।
हप्तौदेखि धारामा पानी नआउँदा उपभोक्तालाई निकै कठिनाइ भइरहेको वीरेन्द्रनगर–११ का घनश्याम वलीले बताए । वली भन्छन्, ‘हाम्रोतिर पानी नआएको लामो समय भयो । देउती मन्दिर नजिकै रहेको कुवाबाट पानी बोकेर गुजरा चलाउन बाध्य छौँ ।’ उनले प्रदेश राजधानीमा बसेर खानेपानीकै सुविधा नपाउँदा स्थानीय सरकार भएको अनुभूति नै नभएको बताए ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था र स्थानीय सरकार खानेपानीको समस्या हल गर्न गम्भीर नदेखिएको वलीले जनाए । भद्रगोल वितरण प्रणालीका कारण पनि उपत्यकाबासीले पानी नपाएको उनको आरोप छ । प्रदेशको राजधानीमा खानेपानीको यस्तो चरम संकट पहिलो पटक भएको भने होइन । नगरबासीले वर्षाैंदेखि पानीको अभाव झेल्दै आएका छन् ।
पछिल्लो समय समस्या झनै विकराल बनेको छ । विगत केही वर्षदेखि माग धेरै र आपूर्ति न्यून हुँदा आलोपालो पानी वितरण गरिँदै आएको थियो । यो वर्ष पनि असार लाग्नुअघि एक साताको फरकमा एक पटक भए पनि उपभोक्ताका धारामा पानी आउथ्यो । तर, असार सुरु भएयता धारामा फिटिक्कै पानी आएको छैन । बर्षात्मै वीरेन्द्रनगर काकाकुलजस्तै बनेको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरको खानेपानी समस्या समाधानका लागि दीर्घकालिन संरचना नहुँदा र भएका संरचना पनि बाढीपहिरोका कारण क्षतिग्रस्त हुँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको अभाव देखिएको छ । वीरेन्द्रनगर–१३ स्थित भञ्जाङ्गमा गत असार १२ गते झुप्राखोलाबाट आउने पानीको मुख्य स्रोतको पाइप लाइन पहिरोले बगायो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ल्याइएको खानेपानीको मुख्य पाइप लाइन पहिरोले ३० मिटरसम्म क्षति पु¥यायो । खानेपानीको मुख्य स्रोत झुप्राखोलाबाट पानी प्रशोधन केन्द्रसम्म ल्याइएको पाइप लाइन पहिरोले बगाउँदा वितरण प्रणाली असन्तुलित बनेको वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले जनाएको छ ।
शुरूमा पाइप लाइनको तलबाट क्षति पु¥याएको पहिरो विस्तारै पारेगाउँ जाने सडकसम्मै पुगेपछि समग्र खानेपानीको वितरण प्रणाली अवरुद्ध भएसँगै समस्या थपिएको संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए । उनका अनुसार शुरूमा गएको पहिराबाट क्षति पुगेको पाइप लाइन निर्माण गरे सञ्चालन गरिएको थियो ।
तर असार २७ गते पुनः बगाएपछि अहिले समस्या झन् थपिएको छ । पहिरो गएको क्षेत्रमा पुनर्निर्माणका लागि काम जारी रहे पनि वर्षात्का कारणा काम गर्न कठिनाइ देखिएको संस्थाका इन्जिनियर तिवारी बताउँछन् । रक एङ्करिङ्ग गरेर आरसीसी गरेर पिल्लर उठाएर खानेपानी सुचारु गर्ने प्रयास वर्षात्ले समस्या निम्त्याइएको इन्जिनियर तिवारीको भनाई छ ।
पहिरोले पाइपलाइन बगाउँदा करिव रु.सात लाखको क्षति पुगेको छ । इन्जिनियर तिवारीका अनुसार पानीको मुख्य पाइपलाइन पहिरोले बगाएपछि हाल खरीखोला, बोरी खोला र डाङ्डुङ्गे खोलासहितबाट खानेपानी आपूर्ति गरिँदै आएको छ । आपूर्तिभन्दा माग धेरै भएकाले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्न कठिनाइ भएको संस्थाका अध्यक्ष कुलमणि देवकोटा बताउँछन् ।
उनले भने, ‘थप स्रोत सिमित छन्, त्यो पानीले पुग्ने अवस्था छैन । बर्षात्मा पहिरोले मुख्य स्रोतको पाइप लाइन बगाउँदा वितरणमा समस्या भइरहेको छ । पहिरोले बगाएका संरचनाको पुनःनिर्माणसँगै हामी अन्य विकल्पको खोजीमै छौं ।’ उनका अनुसार ३६ हजार घरधुरी रहेको वीरेन्द्रनगरका २० हजार घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ ।
बढ्दो शहरीकरणका कारण पनि यहाँ खानेपानीको अभाव बढ्दो छ । वीरेन्द्रनगरमा दैनिक २ करोड ३९ लाख ५२ हजार लिटर पानीको आवश्यकता भए पनि अहिले अपुग रहेको अध्यक्ष देवकोटाको भनाई छ । ‘झुप्राखोलाबाट प्रतिसेकेन्ड ४० लिटर पानी आउँथ्यो । अहिले त्यो आयोजना पहिरोले पाइप बगाउँदा बन्द छ,’ संस्थाका अध्यक्ष देवकोटाले भने ।
उनका अनुसार यसअघि झुप्राखोला, खरीखोला, बोरीखोला, इत्राम खोला र खोर्के खोलाको मुहानबाट ६८ लिटर प्रतिसेकेन्ड ५८ लाख ७५ हजार २०० लिटर प्रतिसेकेन्ड पानी आपूर्ति हुँदै आएको थियो । ‘अहिले झुप्राखोलाको आयोजना बन्द हुँदा अन्य स्रोतबाट आउने पानीले सुर्खेत उपत्यकाको माग धान्न समस्या छ,’ संस्थाका अध्यक्ष देवकोटाले बताए ।
झुप्राखोला आयोजना बन्द रहेको र खरीखोला, बोरीखोला, इत्रामखोला, खोर्केखोला र बुलबुलेको पानी मात्रै प्रयोग भइरहेको संस्थाका अध्यक्ष देवकोटाले जानकारी दिए । ‘यी खोलाबाट प्रतिसेकेन्ड १३६ लिटर मात्र पानी आपूर्ति भइरहेको छ । माग भने प्रतिसेकेन्ड २७५ लिटर रहेको छ,’ उनले भने, ‘२० हजार धाराहरूमा पानी वितरण गरिएको छ ।’
विगतमा ५२ हजार घरधुरी लक्षित गरेर खानेपानीको योजना बनेको अहिले वीरेन्द्रनगर बजार क्षेत्रमा झन्डै ३७ हजार घरधुरी थपिएपछि खानेपानीको समस्या जटिल बनेको छ । ‘हामीसँग पनि सीमित स्रोत साधन भएकै कारणले समस्या भएको हो,’ उनले भने, ‘खानेपानीको समस्या ठुलो छ । तीनै तहका सरकारले पर्याप्त बजेट विनियोजन गरेमात्रै समस्या समाधान हुनसक्ला ।’
स्थानीय सरकारका रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले नगरपालिकाको आफ्नो लगानीले खानेपानी समस्याको समाधान नहुने भन्दै विदेशी दाता डोनर केन्द्र सरकारसँग अनुदानकै भर पर्नुपर्ने बाध्यता रहेको बताइन् । उनले भनिन्, ‘विगतदेखि नै एडीबी, प्रदेश र संघीय सरकारलाई खानेपानी समस्या समाधानका लागि आग्रह गरेका छौँ ।’
नगरमा पानीको हाहाकार भइरहँदा नगरपालिका भने बेखबरजस्तै बनेको उपभोक्ताको गुनासो छ । वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनालले आफूहरू खानेपानीको समस्या न्यूनीकरण गर्न लागिपरेको दाबी गरे । खानेपानी आधारभूत आवश्यकता भएकाले पनि नगरपालिका यसको परिपूर्तिका लागि प्रतिबद्ध रहेको उपमेयर खनालको भनाइ छ ।
खोजिँदै वैकल्पिक उपाय
कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको समस्या भएपछि भेरी नदीको पानी पम्पिङ्ग ल्याउने तयारी छ । खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने भएको हो । भेरी पम्पिङ्ग आयोजनाका लागि तीनै तहका सरकार लागिपरेको वीरेन्द्रनगर नगरपालिकाका मेयर ढकालको भनाई छ ।
‘केन्द्र, प्रदेश र स्थानीय सरकारको सहकार्यमा भेरीको पानी लिफ्टिङको काम अघि बढेको छ,’ उनले भनिन्, ‘सुर्खेत उपत्यकाले काम गरे पनि त्यसको अन्तिम विन्दु नगरपालिका नै हो । हामी सकेसम्म समस्या समाधानका लागि सहकार्य गर्छौ ।’ उनका अनुसार सुर्खेत उपत्यकाको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ्ग आयोजना नै हो ।
डेढ लाख जनसंंख्या रहेको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो सहरीकरण तथा जनसंख्या कारणले नयाँ भेरी नदीको पानी पम्पिङ गरेर सुर्खेत ल्याउन लागिएको संस्थाका अध्यक्ष देवकोटाले जानकारी दिए । २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ ।
आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन,’ उनले भने, ‘तीन तहको सरकारको स्रोत जुटाएर आयोजना सम्पन्न गर्ने लक्ष्यसहित यो आयोजना ठेक्का प्रक्रियामा गएको छ ।’ वीरेन्द्रनगरमा हाल १० वटा स्किम रहेकामा आयोजना निर्माणपछि २४ वटा स्किम रहने अध्यक्ष देवकोटाले बताए ।
‘अहिले तयार पारेको रिर्पोटअनुसार करिब रु ६ अर्ब रकम लाग्ने अनुमान गरिएको छ,’ अध्यक्ष देवकोटाले भने, ‘भेरी नदीमा निर्माण हुने ट्यांकीका लागि रु ५० करोड, मुहानबाट अमृतडाँडासम्मका लागि रु एक अर्ब ५० करोड तथा वीरेन्द्रनगर उपत्यकाभित्र विस्तारका लागि रु चार अर्ब ६७ करोड लाग्ने अनुमान गरिएको छ ।’
उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने योजना बनाएको अध्यक्ष देवकोटाले बताए । ‘उपत्यकामा अहिले पनि पानीको हाहाकार छ,’ अध्यक्ष देवकोटाले भने, ‘खानेपानीको समस्या दीर्घकालिन समाधान गर्ने विकल्प भनेकै भेरीको पानी हो । भेरीको पानी नल्याएसम्म उपत्यकाको खानेपानी समस्या टार्न मुश्किल छ ।’
भेरी किनारमा पानी प्रशोधन केन्द्र निर्माण गरी साढे ११ किलोमिटर लामो पाइपलाइनबाट अमृतडाँडामा पानी संकलन गरिनेछ । प्रतिसेकेन्ड ३८० लिटरको बहावमा आउने भेरीको पानी अमृतडाँडास्थित रिजर्वभ्वाएर (ट्यांकी)मा खसालिनेछ । यसका लागि ४० लाख लिटर क्षमताको ट्यांकी निर्माण गरिने संस्थाले जनाएको छ ।
सुरेश आचार्य । कर्णाली